सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, महाकाली नदीले सतर्कता तह पार गर्‍यो


२ कार्तिक २०७८, मंगलवार
badhi 3

काठमाडौं, २ कातिक । सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै तीन दिन थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकाले सो क्षेत्र भएर बग्ने नदीका तटीय र डुबान हुने क्षेत्रमा बसोवास गर्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।

आइतबार रातिदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ ।
महाकाली नदीले सतर्कता तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह
महाकाली नदीले सतर्कता तह पार गरेको छ । सोमबार राति साढे ९ बजेको मापनअनुसार महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले डडेलधुरा र कन्चनपुर जिल्लाका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा मंगलबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

‘महाकाली नदी पारीगाँउ जल मापन केन्द्रमा नदीको जलसतह बढेर सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले डडेलधुरा र कञ्चनपुर जिल्लाका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनु हुनेहरूले भोलि बिहानसम्मै उच्च सतर्कता अपनाऔं’, विभागले भनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७