भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह


२ कार्तिक २०७८, मंगलवार
rain

काठमाडौं, २ कातिक । आज (मंगलबार) पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । आज बिहान देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश–१ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, प्रदेश–२, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश–१ का केही स्थान, प्रदेश–२, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमविद् मानन्धरका अनुसार आज काठमाडौंमा पनि भारी वर्षाको सम्भावना रहेको छ । ‘वागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना देखिएकाले काठमाडौंमा पनि ठूलो पानी पर्ने सम्भावना छ’, उनले भनिन् ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना मौसमविद् मानन्धर बताउँछिन् ।

प्रदेश–१, लुम्बिनी प्रदेशका थोरै स्थान, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा सुदूरपश्चिम प्रदेश र प्रदेश–१ का केही स्थान, प्रदेश–२, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा वागमती प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल बंगालको खाडीमा र मध्य भारतमा रहेको न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जसका कारण वर्षा भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७