अफगानिस्तानका लागि अमेरिकी राजदूत खलिलजादले दिए राजीनामा


२ कार्तिक २०७८, मंगलवार

काठमाडौं, २ कातिक । अफगानिस्तानका लागि अमेरिकी राजदूत जाल्मे खलिलजादले राजीनामा दिएका छन् । अमेरिकी विदेश मन्त्रालयले उनले राजीनामा दिएको बताएको छ ।

तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको दुई महिना नपुग्दै खलिलजादले राजीनामा दिएका हुन् । खलिलजादको स्थानमा उनका सहायक टोम वेस्टले पदभार सम्हाल्ने छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सार्वजनिक गरेको एक विज्ञप्तिमा टोम वेस्टले कतारको दोहास्थित दूतावासबाट काम गर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘म खलिलजादलाई उनले गरेको सेवाप्रति आभार व्यक्त गर्न चाहन्छु र विशेष प्रतिनिधि वेस्टलाई सोही पदमा स्वागत गर्न चाहन्छु ।’

रोयटर्सका अनुसार गत शुक्रबार खलिलजादले आफ्नो राजीनामा पत्र बुझाएका थिए । तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि अमेरिकाको तालिबानसँगको पहिलो आधिकारिक वार्तामा खलिलजाद सामेल थिएनन् । उक्त वार्ता अक्टोबरको सुरुमा दोहामा भएको थियो ।

अफगानिस्तानमा जन्मिएका खलिलजाद सन् २०१८ देखि यो पदमा रहँदै आएका थिए । उनले तालिबानसँगको अमेरिकाको वार्तामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा २०२० को फेब्रुअरीमा अमेरिका–तालिबान शान्ति सम्झौता भएको थियो । सोही सम्झौताको आधारमा यस वर्ष अमेरिकी सेनाले अफगानिस्तान छाडेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७