बझाङमा पहिरोले सात घर पुरिए, एकै घरका १८ सहित २३ जना बेपत्ता


२ कार्तिक २०७८, मंगलवार
pahiro

बझाङ, २ कातिक । बझाङको थलारा गाउँपालिका–४ डिख्लामा हिजो (सोमबार) राति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीयवासी विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुशल छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीयवासी विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् ।

गाउँ पहिरोको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भइ आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा बन्द हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन ।

बाढीले सडक बन्द भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकाले उद्धारमा समस्या भइरहेको स्थानीयवासीले बताएका छन् । उनीहरूले पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको वर्षाले बाटो बन्द भएकाले घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७