मौसम खराबीले सेती बाढीमा फसेकाको उद्धार नगरी फर्कियो हेलिकप्टर


२ कार्तिक २०७८, मंगलवार
seti

बैतडी, २ कातिक । बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढीमा फसेका करिब ६० स्थानीयको उद्धारमा नगरी नेपाली सेनाको हेलिकप्टर फर्किएको छ ।

उद्वारको लागि सुर्खेतबाट हेलिकप्टर मोसम खराबीले बस्न नसकेर फर्किएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार ढुंगाडमा फसेकाहरूको उद्वारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर आए पनि मौसम खराबीले बस्न नसकेर फर्किएको छ ।

सोमबार राति १० बजेदेखि नै उद्वारको पर्खाइमा बसेका उनीहरुले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् । नदीले गाउँको जमिन कटान गरेर ढुंगाडमा एउटा टापु नै बनाएको छ । टापु जुनसुकै बेला पनि बगाउन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन् ।

सिगास गाउँपालिकाका प्रवक्ता रामबहादुर धामीले उनीहरुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेका छन् । उनले भने, ‘सेती नदीको किनारमा मैदान थियो । धार परिवर्तन गरेर बस्तीको बीचबाट नदी गयो । अहिलेसम्म उद्धार हुन सकेको छैन । आजै मैले सुदूरपश्चिम प्रदेशका कानुनमन्त्रीसँग समय मागे तर, पाएन ।’

उनले भने, ‘सेती नदीले गाउँको जमिन कटान गरेर ढुंगाडतर्फ एउटा टापु बनाएको छ । जुन टापु कुनै पनि बेला बग्न सक्छ ।’ गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै घटनाबारे जानकारी गराएको प्रवक्ता धामीले बताए ।

सेती नदीमा बाढी आएपछि नदी आसपासका बस्ती बान्डोरीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासी त्रसित छन् । सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी विक्रम चन्दका अनुसार दुई जिल्ला जोड्ने झोलुङ्गे पुल बगाउँदा करिब ६० जना नदीको टापुमा फसेका हुन् । एसएसपी चन्दले नदी दुवैतिरबाट बगेपछि उनीहरु टापुमै अड्किएको बताएका छन् ।

उनले पुल बगाएकाले उद्धारमा कठिनाइ भएको बताए । हेलिकोप्टरबाट उद्दार गर्ने तयारी गरिए पनि खराब मौसमका कारण समस्या भएको छ । नदीले कटान गर्न थालेपछि नदी किनारमा रहेका केहि स्थानीय रातिनै सुरक्षित स्थानतिर गएका छन् । नदीमा पानीको बाहब बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७