हामीले चाहे एक हप्तामा यो सरकार ढाल्छौं : ओली


३ कार्तिक २०७८, बुधबार
kpolinew123 4IF0qTfKdZ

काठमाडौं, ३ कातिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहे देउवा सरकार एक सातामा ढाल्ने दावी गरेका छन् । बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकाले उनीहरूलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ’, ओलीले एमालेको उदेश्य र अभिष्ट सरकार बनाउने नभइ देश बनाउने भएको दावी गरे ।

‘हाम्रो अभिष्ट सरकार बनाउने होइन । देश बनाउने र सरकार बनाउने कुरा फरक छ । देश बन्ने निश्चित गरेरमात्रै हामी सरकार बनाउँछौं’, ओलीको भनाई । उनले अर्ली इलेक्सन भए आफूहरु मान्न तयार रहेको पनि बताए । ‘अर्ली इलेक्सन भए ठिकै छ, तर यो सरकारले देशको असाधारण बहुमूल्य समय खेर फालिरहेको छ । हामीलाई सवै तहका चुनावमा विजयी चाहियो । हाम्रो निशाना चुनावको तयारी’, कार्यकर्तालाई ओलीको निर्देशन छ ।

अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् । सरकारको सय दिन पूरा भइरहँदा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाएका हुन् ।

उनले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दाबी समेत गरे । ‘अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार हो’ उनले भने, ‘सरकार आलोचना गर्न पनि लायक रहेन, जसको हातमा नायवी छ, पर्दा पछाडि छ, अरु के भन्नु ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७