बाहिरियो भारी वर्षा गराउने प्रणाली, आजदेखि मौसममा सुधार आउने


४ कार्तिक २०७८, बिहीबार
kathmandu

काठमाडौं, ४ कातिक । भारी वर्षा गराउने मौसमी प्रणाली बाहिरिएसँगै आज (बिहीबार) देखि मौसममा सुधार आएको छ । देशका धेरै ठाउँमा आज घाम लागेको छ । मौसमविद् वरुण पौडेलका अनुसार गए राति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना छ । अबको दुई, तीन दिन लगातार झरी नपर्ने उनले बताए ।

भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएकाले अब दुई-तीन दिन लगातारको झरी र ठूलो वर्षा हुने सम्भावना नरहेको उनले बताए । आज प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा भने हल्का पानी पर्ने अनुमान छ ।

‘आजदेखि देशका धेरै ठाउँमा मौसम सफा हुन्छ, स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा हल्का पानी परे पनि बाढी र डुबान हुने गरी ठूलो वर्षा र झरीको सम्भावना छैन’ मौसमविद् पौडेलले भने । गएको आइतवारदेखि अस्तिसम्म पश्चिमी क्षेत्रमा धेरै पानी पारेको प्रणाली हिजो पूर्व सरेको थियो ।

आज भने पूर्वबाट पनि यो प्रणाली हटिसकेको मौसमविद्ले बताएका छन् । यसैबीच, पानी नपरे पनि हिजोअस्तीकै वर्षाले जमिन गलेकाले पहिरोको जोखिम भने कायमै रहेको मौसमविद्ले बताएका छन् । भिरालो जमिनमा बसोबास गर्ने र यात्रा गर्नेहरुलाई विशेष सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७