मान्छेमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण परीक्षण


४ कार्तिक २०७८, बिहीबार
kidny1634785455

काठमाडौं, ४ कातिक । अमेरिकामा पहिलो पटक सुँगुरको मिर्गौला सफलतापूर्वक मान्छेको शरीरमा प्रत्यारोपण गरिएको छ । यसमा व्यक्तिको प्रतिरोधात्मक प्रणालीले सो मिर्गौलालाई ‘रिजेक्ट’ नगर्दा यो परीक्षण ठूलो सफलता बनेको हो । यस नयाँ उपलब्धीले प्रत्यारोपण प्रक्रियाका लागि आवश्यक मानव अङ्ग अभावको समस्या समाधानमा उल्लेखनीय मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।

यो शल्यक्रिया न्युयोर्क सिटीस्थित एन.वाइ.यु लेनेगोन हेल्थमा गरिएको थियो । यसमा मानव शरीरले तुरुन्तै नकार्ने सुँगुरको टिस्युलाई हटाउन त्यसको जिन परिमार्जित गरिएको हो । यसमा शल्यक्रिया गरिएकी व्यक्ति चाहिँ केही समय अगाडि नै ‘ब्रेन डेड’ घोषणा गरिएकी थिइन् जसको मिर्गौलाले काम नगरेको लक्षण देखिन्थ्यो । त्यसैले उनका परिवारसँग अनुमति मागेर उनलाई लाइफ–सपोर्टबाट हटाउनु अगाडि यो परीक्षण गरिएको अध्ययनकर्ताहरुले रोयटर्ससँग बताएका छन् ।

यसमा तीन दिनसम्म नयाँ मिर्गौला उनको रक्तनलीसँग जोडिएर रहेको र बाहिरी शरीरमा पनि कायम रहेको बताइएको छ । प्रत्यारोपण गरेका सर्जन, डाक्टर रोबर्ट मोन्टगोमेरी भन्छन्, ‘परीक्षणको नतिजामा सो मिर्गौलाले सामान्य जसरी काम गरेको देखियो । मान्छेबाट प्रत्यारोपण गरिने मिर्गौलाबाट अपेक्षा गरिने जति नै पिशाब यसले उत्पादन गर्‍यो ।’

ती व्यक्तिमा प्रत्यारोपण भन्दा पहिले असामान्य ‘क्रिएटिनाइन लेभल’ रहेको थियो जुन कमजोर मिर्गौलाको संकेत हो । तर सुँगुरको मिर्गौला प्रत्यारोपण गरिसकेपछि भने सो स्तर सामान्यमा फर्किएको मोन्टगोमेरीले बताए । अमेरिकामा मात्र हाल एक लाख ७ हजार बढी बिरामीहरु अङ्ग प्रत्यारोपण गर्ने पर्खाइमा छन् जसमध्ये ९० हजार बढीले मिर्गौला प्रत्यारोपण गर्न कुरिरहेका छन् । मिर्गौलाका लागि बिरामीले प्रायः पाँच वर्षसम्म पर्खिनुपर्ने हुन्छ ।

त्यसैले पनि वैज्ञानिकहरु जीवजन्तुको अङ्ग प्रत्यारोपण गर्ने सम्भाव्यताबारे दशकौँ अगाडिदेखि अध्ययन गरिरहेका छन् । तर हरेकपटक जनावरको अङ्ग प्रत्यारोपण गर्नासाथ हाम्रो शरीरले ‘रिजेक्ट’ गर्ने अर्थात नअपनाउने समस्या रहँदै आएको थियो ।

यसैको समाधानका लागि मोन्टगोमेरीको टिमले उक्त ‘रिजेक्सन’ निम्त्याउने सुँगुरको जिन परिमार्जित गरि हटाउने सिद्धान्तमा काम गरिरहेका थिए । ‘गलसेफ’ नाम दिइएको सो परिमार्जित जिन युनाइटेड थेरापेउटिक्स कोप्र्स रिभिभिकोर युनिटले निर्माण गरेको थियो । यसपछि अमेरिकी खाद्य तथा औषध विभाग, एफडीएले यसलाई डिसेम्बर २०२० मा मासुको एलर्जी हुने मानिसहरुले प्रयोग गर्न सक्ने भनेर स्वीकृत गरेको थियो ।

सुँगुरबाट विकसित औषधि उत्पादन मान्छेमा प्रयोग गर्नका लागि एफडीएको विशेष अनुमति आवश्यक पर्दछ । यस्तोमा अहिले वैज्ञानिकहरु गलसेफ सुँगुर मानव बिरामीका लागि मुटुको भल्फदेखि छालासम्मको श्रोत बन्न सक्नेबारे विचार विश्लेषण गरिरहेका छन् ।

र यो नयाँ उपलब्धीले आगामी दुई तीन वर्षमै अन्तिम स्टेजमा रहेका मिर्गौला फेल हुने बिरामीका लागि सम्भावित नयाँ उपचार विधिको बाटो खुलाउन सक्ने बताए । गम्भीर रुपमा बिरामीहरुका लागि यो उपायले मानव मिर्गौला नपाइन्जेल छोटो अवधिका लागि या ‘पर्मानेन्ट ग्राफ्ट’ का रुपमा समाधानको काम गर्ने अपेक्षा गरिएको छ ।

तर अहिलेलाई सो प्रत्यारोपण तीन दिनका लागि मात्र छाडिएको हुँदा आगामी परीक्षणहरुले अझ दायरा बढाउने र नयाँ अवरोधकहरुको सामना पनि गराउन सक्ने मोन्टगोमेरीले बताए । यसमा त्यस्ता व्यक्तिलाई मात्र सहभागी गराइने जसले मानव मिर्गौला पाउने सम्भावना कम भएको या डाएलिसिसमा कमजोर प्रोग्नोसिस भएका बिरामीलाई मात्र सहभागी गराइने पनि उनले बताए ।

मोन्टगोमेरी भन्छन्, ‘त्यस्ता मानिसहरुमा मृत्यु दर क्यान्सर हुँदा जत्तिकै उच्च हुन्छ । त्यसैले हामी उनीहरुलाई थप केही महिनाका जीवन दिनका लागि भए पनि नयाँ औषधि दिन या नयाँ ट्रायल गर्न पछि हट्दैनौं ।’ रोयटर्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७