प्रधानमन्त्री सुर्खेतमा, बाढी–पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउने प्रतिवद्धता


४ कार्तिक २०७८, बिहीबार
photo pm iiOHJnw0Ju

सुर्खेत, ४ कातिक । प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण आएको बाढी–पहिरोबाट पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

उनले बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट बाढी–पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय भएको बताउँदै भौतिक क्षति भएका परिवारलाई पनि राहत प्याकेज उपलब्ध गराइने बताए ।

‘जलवायू परिवर्तनका कारणले भएको वर्षाले जनधनको ठूलो क्षति पुर्‍याएको छ,’ बिहीबार कर्णाली र सुदूरपश्चिममा बाढी–पहिरोले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षणमा निस्किएका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘मृतकका परिवारलाई राहतको घोषणा गरिसकेका छौं, भौतिक क्षतिको मूल्याङ्कन गरेर थप राहत उपलब्ध गराउँछौं ।’ उनले बाढी–पहिरोका कारण भएको पुननिर्माणको काम पनि तत्कालै अघि बढाइने बताए ।

प्रधानमन्त्री देउवाले कृषकले बाली भित्र्याउने बेला आएको बाढी–पहिरोले ठूलो क्षति पुर्‍याएको बताउँदै त्यसको मूल्याङ्कन गरेर कृषकलाई पनि राहत दिइने बताए । सुर्खेतमा रहँदा प्रधामन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुरक्षा अंगका प्रमुखबाट कर्णालीमा बाढी–पहिरोले पुर्‍याएको क्षतिका विषयमा जानकारी लिएका थिए ।

सो क्रममा प्रधानमन्त्री देउवाले तत्कालै बाढी–पहिरोले पुर्‍याएको क्षतिको यकिन गरेर संघीय सरकारलाई जानकारी गराउन निर्देशन दिएका थिए । प्रधानमन्त्री देउवाले कात्तिक तेस्रो साता हुने संयुक्त राष्ट्रसंघीय जलबायू परिवर्तनसम्वन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा जलवायू परिवर्तनले नेपालले भोग्नु परेको चुनौतिका विषयमा आफूले बोल्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७