कांग्रेसको महाधिवेशन प्रभावित हुने संकेत


५ कार्तिक २०७८, शुक्रबार
congress

काठमाडौं, ५ कातिक । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ । मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसको १३ वटा जिल्लामा वडा अधिवेशन पनि शुरू हुन सकेको छैन ।

तल्लो तहको अधिवेशन प्रारम्भ भएको ६४ जिल्लामध्ये १३ वटामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालप्रसाद घिमिरेले जानकारी दिएका छन् । १३ मध्ये गोरखामा दुई निर्वाचन क्षेत्र भएकाले १४ वटा निर्वाचन क्षेत्रमा अधिवेशन भएको छ भने बाँकी जिल्लामा पालिकासम्म मात्र अधिवेशन भएको घिमिरे बताउँछन् ।

क्रियाशील सदस्यता विवादका कारण प्रदेश नम्बर २ को ८ जिल्लासहित डोल्पा, कैलाली, बाँके, सुर्खेत र रसुवामा वडा अधिवेशन नै सकिएको छैन । यी १३ जिल्लामध्ये अहिले बारा, रसुवा र रौटहट जिल्लाको विवाद समाधान हुन सकेको छैन । बाँकी जिल्लाको विवाद टुंगिए पनि एकैपटक अधिवेशन प्रक्रिया अघि बढाउने भनेर निर्वाचन समितिले तल्लो तहको अधिवेशन शुरू गरेको छैन ।

निर्वाचन समितिका संयोजक घिमिरेका अनुसार डोल्पामा भने एक-दुई दिनभित्रै जिल्ला निर्वाचन अधिकृत पठाएर वडा अधिवेशन शुरू गरिने भएको छ । यसअघिको सहमतिअनुसार २१ वटा हिमाली जिल्लाको जिल्ला अधिवेशन दशैंअगावै गरिसक्ने भनिए पनि ८ वटा हिमाली जिल्लाको पालिकाभन्दा माथिको अधिवेशन हुन सकेन । हिमाली जिल्लाको सवालमा केही दिनभित्रै अधिवेशन शुरू गरिने निर्वाचन समितिले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७