पहिरोको जोखिममा लमसुङ गाउँ, पूरै वडा अन्धकारमा


६ कार्तिक २०७८, शनिबार
ishma pahiro 1

म्याग्दी, ६ कात्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि पूरै वडा अन्धकारमा छ ।

दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार विस्थापित भएका छन् । लमसुङमा रहेको स्वास्थ्यचौकीसमेत पहिरोको जोखिममा परेको स्थानीयवासी भक्तबहादुर सिङकिजाले जानकारी दिए । ‘केही दिनअघिको बर्सातका कारण दरखोलामा आएको बाढीले कटान गरेर घर नजिकै पहिरो पुगेपछि चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ’, उनले भने, ‘सुविधा सम्पन्न पक्की भवन भएको स्वास्थ्य चौकी समेत जोखिममा परेको छ ।’

भबहादुर पाइजा, ज्ञानबहादुर पाइजा, दलबहादुर राना र पलु पुनको घरपरिवार विस्थापित भएका हुन् । लमसुङ बस्तीको माथितर्फ विसं २०७४ मा गएको जुगेपानीको पहिरो रोकिए पनि तलबाट नयाँ पहिरो सिर्जना भएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

तत्काल पहिरो नियन्त्रणको काम नगरे वडा कार्यालयसमेत रहेको करिब ८० घरधुरीको बसोबास रहेको लमसुङ गाउँमा थप जोखिम बढ्ने स्थानीयवासीले बताएका छन् । वडाध्यक्ष गमप्रसाद विकले जोखिममा रहेका घर परिवारलाई सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको र थप क्षति हुन नदिन पहिरो नियन्त्रण योजनाका लागि पहल गरेको बताए ।

यसैगरी गत भदौ २१ गते बाढीले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि धौलागिरि गाउँपालिकाको वडा नम्बर २ का ३६५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य छन् । बयालीस किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको नहर, बाँध र खबाङको विद्युत्गृह बाढीले बगाएपछि अन्धकार भएको हो । परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका ३६५ घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको छ ।

घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारीत साना उद्योग ठप्प भएको छ । उज्यालोका लागि टुकी र सौर्य उर्जामा भर पर्नुपर्ने अवस्था आएको छ । विसं २०७६ कात्तिकमा एक करोड ५२ लाखको लागतमा परियोजना निर्माण भएको थियो ।

यसअघि विसं २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युत्गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो । लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७