बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै


प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १३:३७

बैतडी, ५ कात्तिक । बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए ।

यस्तै २१ हजार ५४ बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ । छदेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । जसका लागि केन्द्रमा ८३१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन अनुरोध गरिएको छ । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैं परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले पटक–पटक हात धुन र स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य कार्यालयको आग्रह छ । रासस

प्रतिक्रिया दिनुहोस्