साढे दुई अर्बको बुद्ध मूर्ति गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइयो


६ कार्तिक २०७८, शनिबार
buddha murti1

भैरहवा, ५ कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने दुई अर्ब ५० करोड बढी मूल्यको बुद्ध मूर्ति शनिबार लुम्बिनी परिक्रमा पछि विमानस्थल परिसरमा ल्याइएको छ । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिका मार्फत गौतमबुद्ध विमानस्थलमा राख्नका लागी सो मूर्ति ल्याइएको फाउण्डेसनका महासचिव एकराज गिरिले बताए ।

लुम्बिनी गार्डेन फाउण्डेसनले म्यानमारका विभिन्न संस्थाहरुसंग समन्वय गरि म्यानमारबाट भारत हुँदै सो मूर्ति नेपाल ल्याएको थियो। उक्त मूर्तिलाई शनिबार सिदार्थनगर उद्योग वाणिज्य संघ, लुम्बिनी होटल संघ, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिदार्थनगर नगरपालिका, साईकल सिटी भैरहवा लगायत बिभिन्न संघसंस्थाहरुको समन्वयमा बेलहीया, भैरहवा साथै लुम्बिनी परिक्रमा गराइएपछि विमानस्थल परिसरमा राखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय अधिकृत तुल्सी प्रसाद लामीछानेले बताए ।

विभिन्न झाँकीसहित निकालीएको ¥यालीले भैरहवा, लुम्बिनीलगायतका स्थानहरुको परिक्रमा गरेको र ठाउँ ठाउँमा बुद्ध पुजा समेत गरिएको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले जानकारी दिए।

यस मूर्तिले म्यानमार र लुम्बिनीको सम्बन्धलाई थप मजबूत बनाएको लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिच्छु मैतेयले बताए । बुद्ध मूर्तिलाई रुपैयाँसंग तुलना गर्न नहुने भन्दै उपाध्यक्ष मैतेयले गौतम बुद्धको सन्देशनै अमूल्य रहेको बताए ।

दुई अर्ब पचास करोड मूल्य पर्ने यस मूर्ति नेपालसम्म ल्याउँदा करिब ३ अर्ब पर्ने लुम्बिनी गार्डेन फाउण्डेसनका महासचिव गिरिले बताए । उनले मूर्तिलाई कार्तिक १४ गते राष्ट्रपतिमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । अर्थ र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार शूल्क नलाग्ने गरी मूर्ति नेपाल भित्राइएको पनि उनले जानकारी दिए । १८ सय किलोग्राम तौल रहेको मूर्तिको उचाइ १ दशमलब ९ मीटर, चौडाइ ६० सेन्टीमिटर र मोटाइ १ मिटर रहेको छ ।

मूर्ति के बाट बनेको छ ?
बहुमूल्य ढुङ्गा ह्वाइट जेड स्टोनबाट यस मूर्तिको निमार्ण भएको छ । मूर्ति एउटै ढुङ्गाबाट तयार गरिएको छ । म्यानमारमा बनाइएको यस मूर्तिको मूल्य साढे २ अर्ब भन्दा बढी छ । म्यानमारमा पाइने बहुमूल्य ढुङ्गाको अन्तर्राष्ट्रिय बजारमा एक ग्रामको १ हजार २ सय हङकङ डलर पर्ने फाउण्डेसनले जनाएको छ । यो मूर्ति म्यानमारको संस्थाले लुम्बिनी गार्डेनलाई उपहार दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७