जसले पहिरोमा सर्वस्व गुमाए : सुरक्षाका लागि सरेर बसेको घरमै पहिरोले २१ जनालाई बगायो


७ कार्तिक २०७८, आईतवार
thumb 15

बझाङ, ७ कात्तिक । दर्के झरीको आवाजले सोमबार बिहान साढे ३ बजे नरे पार्कीको निद्रा खुल्यो । उठेर बाहिर आउँदा घरवरिपरि खोलाजत्रै पानीको भल बगिरहेको थियो । गाउँको पुछारमा बग्ने डिक्लीगाडखोला चर्को आवाजले गडगडाइरहेको थियो ।

बझाङको थलारा गाउँपालिका–४, डिक्ला गाउँको पूर्वी कुनामा बस्ने पार्की आत्तिए । उनको घरभन्दा करिब १ किलोमिटरमाथि ढोगदिना डाँडामा गत वर्ष नै सानो पहिरो सुरु भएको थियो । ढोगदिनाको पहिरो फुट्यो भने घर रहँदैन भन्ने डर उनमा थियो । ‘मान्छे त जोगाउनुप¥यो भनेर आमा, श्रीमती र केटाकेटीलाई ब्युँझाँए । झरीमै हामी सबै छिमेकी गगने सार्कीको घर गयौं,’ ५५ वर्षीय पार्कीले सुनाए ।

करिब सय मिटर दूरीमा रहेको पार्कीको घरमा (जहाँ १८ जना थिए) जहान परिवार पुर्‍याएपछि अब त सुरक्षित भइयो भनेर ढुक्क भएका उनले एक्कासि सम्झे– पहिरोले घर नै बगायो भने के खाने ? गगनेका छोरा कलकलाई लिएर घर फर्के अनि एकएक बोरा धान उठाए ।
‘आमाको औषधि र केटाकेटीको ओढ्ने लुगा पोको पारेर फर्किन के लागेका थियौं, एक्कासि ठूलो आवाजसहित पहिरो फुट्यो,’ पार्कीले भने, ‘कुहिरो र झरीको अँध्यारोमा पहिरो झर्दा खसेका ढुंगा आपसमा ठोक्किएर आगोका झिल्का उठ्न थाले । हामी दुवै भागेर पर पुग्यौं ।’

करिब २० मिनेटसम्म गड्याङगुडुङ आवाजसहित पहिरो खसिरह्यो । ढुंगा खस्न रोकिएपछि कलक र नरे घर नजिक आए । नरेको घर केही भएको रहेनछ । जुन घर सुरक्षित भनेर केही बेरअगाडि परिवार छाडेर आएका थिए, त्यो घर र वरिपरिका अरू ६ घरको नामोनिसान थिएन । उज्याले हुन्जेलसम्म आधा गाउँ नै बगर बनिसकेको थियो । कलकका परिवारका १८ र नरेका ५ गरी २३ जना बसेको घरलाई बीचमा पारेर १ किलोमिटर जति पहिरो फैलिएको थियो ।

बुधबार दिउँसो मात्रै केही सम्हालिएका नरे अब एक्लो भएका छन् । जीवनको उत्तरार्द्धमा एकै पटक सबै परिवार गुमाएर एक्लिनुको पीडा त उनको मनमा छँदै छ, बिहानै सपरिवार गगनेको घरमा नपु¥याएको भए कसैलाई केही नहुने रहेछ भन्ने पछुतोले उनलाई झन् विक्षिप्त बनाउने गरेको छ । ‘आफ्नै घरमा राखेको भए केही नहुने रहेछ,’ उनले रुँदै भने, ‘उता सुरक्षित होला भनेर पुर्‍याएँ, मार्न पठाए जस्तो भयो ।’

आमा, श्रीमती, चार छोराछोरी, भाइ, भाइबुहारी र भतिजाभतिजी गरी १७ जना परिवारका सदस्य गुमाएका कलक सार्कीको अवस्था झन् पीडादायी छ । छिनछिनमा बेहोस हुने उनका आँखा रुँदारुँदा राता भइसकेका छन् । ‘जे हुनु भइहाल्यो भनेर मन बुझाउने प्रयास गर्छु,’ उनले भने, ‘यस्तै देख्नका लागि म मात्रै किन बाँचे हुँला जस्तो लाग्छ ।’

शवको सनाखत गर्ने मान्छे अरू नभएका कारण उनीहरूलाई लैजानुपर्ने भए पनि अझै विक्षिप्त अवस्थामै रहेको घटनास्थलमा उद्धारको नेतृत्व गरिरहेका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए । ‘गाउँले र हामीले सम्झाइबुझाइ गरिरहेका छौं,’ उनले भने, ‘नरे र कलक मात्रै नभएर उनीहरूका आफन्तको अवस्था पनि सामान्य छैन ।’

उनीहरू अहिले आफन्तको घरमा बसिरहेको कार्कीले बताए । शनिबार साँझसम्म २३ जना बेपत्ता भएका यो परिवारका चार जनाको शव भेटिएको छ । घटना स्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७