चार वर्षअघि वडाध्यक्षमा पराजित राय पुनः मत गणनामा दुई भोटले विजयी


प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार १८:५०

महोत्तरी, ७ कात्तिक । महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका उम्मेदवार निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा भएको पुनः मत गणनामा विजयी भएका छन् । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्षका लागि भएको मत गणनामा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी भएका हुन् ।

यसअघि नेपाली कांग्रेसबाट अरुणकुमार चौधरी धाँधली गरी निर्वाचित भएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । त्यसपछि अदालतको फैसलामा भएको पुनः मत गणनामा राय दुई मतको झिनो मतान्तरले चार वर्षपछि निर्वाचित भएको निर्वाचन अधिकृत खगराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार रायले २६८ मत ल्याउँदा चौधरी २६६ मत मात्रै ल्याए ।

०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनको परिणाम २०७४ असोज ८ गते प्रकाशित भएको थियो । जसमा राजपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका रमेशकुमार राय र नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए । दुवै जनाको मत बराबर भएपछि गोलाप्रथाबाट चौधरी निर्वाचित भएका थिए ।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको आरोप लगाउँदै निकटतम प्रतिद्वन्द्वी रहेका राय अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । तर उच्च अदालतको आदेशपछि पनि अरुण कुमार चौधरी सर्वोच्चसम्म पुगे । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको फैसलालाई सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्