गुनासो गर्दैनन् दूरसञ्चारका उपभोक्ता


८ कार्तिक २०७८, सोमबार
ntc

काठमाडौं, ८ कात्तिक । उपभोक्ताहरूले टेलिकम र इन्टरनेट सेवाको विषयमा सामाजिक सञ्जालहरूमा असन्तुष्टि पोख्ने गरे पनि नियामक निकायमा गुनासो नगर्ने गरेको पाइएको छ । भ्वाइस तथा इन्टरनेटमा केही समस्या भएमा प्रयोगकर्ताले दूरसञ्चार प्राधिकरणमा उजुरी दिन सक्छन् । तर, गत आव २०७७/७८ मा उपभोक्ताहरूको तीन सय नौवटा गुनासाहरू परेका छन् ।

जसमध्ये भ्वाइस सेवा प्रदायकसँग सम्बन्धित ९० वटा गुनासो परेका छन् भने इन्टरनेट सेवा प्रदायकसँग सम्बन्धित दुई सय १९ वटा मात्रै गुनासो परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणमा परेका गुनासोहरूको समाधान गरिएको प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार ऐन २०५३ को दफा ६ र दूरसञ्चार नियमावली, २०५४ को नियम २२ र २४ अनुसार सेवा प्रदायकहरूले सञ्चालन गरेको सेवाको सम्बन्धमा प्राधिकरणसमक्ष उजुरी गरेमा प्राधिकरणले उजुरी व्यवस्थापन गर्ने व्यवस्था रहेको छ । प्राधिकरण एक अर्धन्यायिक निकाय हो । यसले दूरसञ्चार ऐन २०५३ को दफा १६, ३९ वा ४७ अनुसार कारबाही हुन सक्ने उजुरी वा निवेदनको किनारा गर्ने कानुनी व्यवस्था छ । यसलाई कार्यान्वयन गर्न प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली २०६८ बनाई लागू समेत गरेको छ ।

इन्टरनेटसम्बन्धी गुनासो अधिक
दूरसञ्चार प्राधिकरणमा इन्टरनेटको स्पिडसम्बन्धी गुनासो अधिक परेको पाइएको छ । प्राधिकरणका अनुसार इन्टरनेट स्पिड-सुस्त-प्याकेज-ब्यान्डविथसम्बन्धी एक सय ३३ वटा गुनासो परेको छ । यो भनेको कुल गुनासो संख्याको ४३ प्रतिशत हो ।

इन्टरनेट नचलेको ३४ वटा गुनासो परेको छ । यो संख्या कुल गुनासो संख्याको ११ प्रतिशत हो । त्यस्तै, मर्मतसम्बन्धी समस्याका नौ, बिलिङ सम्बन्धमा आठ, टोल फ्री नम्बर सम्बन्धमा नौ, क्षतिपूर्ति सम्बन्धमा तीन र अन्य समस्याका सम्बन्धमा २३ गुनासो परेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, भ्वाइससम्बन्धी गुनासोअन्तर्गत ब्यालेन्स सम्बन्धित १८ वटा गुनासो परेको छ । सिमकार्ड सम्बन्धमा नौ, नेटवर्कसम्बन्धी २०, डाटा प्याकेज सम्बन्ध १६, रोमिङसम्बन्धी ८, ल्यान्डलाइनसम्बन्धी १२, अन्तरआबद्धतासम्बन्धी एक, मर्मत सम्बन्धमा एक र अन्य समस्या सम्बन्धमा पाँचवटा गुनासो परेको प्राधिकरणले जनाएको छ ।

टेलिकमको गुनासो धेरै
नेपाल दूरसञ्चार प्राधिकरणमा परेको गुनासामध्ये नेपाल दूरसञ्चार कम्पनीको अधिक परेको छ । प्राधिकरणको तथ्यांकअनुसार दूरसञ्चार कम्पनीको भ्वाइस तथा इन्टरनेट समस्या सम्बन्धमा ८२ वटा गुनासो परेको छ । यो संख्या कुल गुनासो संख्याको २६ प्रतिशत हो ।

एनसेलको २६, वल्र्डलिंक ५२, भायनेट कम्युनिकेसन्सको ३५, क्लासिक टेक ५४, सुबिसु केबल २८, स्मार्ट टेलिकम ६, पोखरा इन्टरनेट १, ब्रोडलिंक कम्युनिकेसन ७, म्याक्स नेट १, वेबसर्फर नेपाल कम्युनिकेसन ७, एलएनटी इन्फोटेक ४, टेकमाइन्डस्, एरोनेट, चेरी वल्र्ड, प्रभु डिजिटल, फ्रस्ट लिंक, इन्फोनेटका एक–एकवटा गुनासा परेका छन् ।

दूरसञ्चारको प्रयोगले दैनिक जीवन जति सहज भनेको उत्तिनै कठिन पनि बनेको छ । त्यसैले, यसको दुरुपयोग नगर्नसमेत प्राधिकरणले आग्रह गरेको छ । डिजिटलमाध्यमबाट कसैलाई आत्महत्या गर्नसम्म बाध्य बनाइएको गुनासो आउने गरेको प्राधिकरणले जनाएको छ । तसर्थ, यस्तो खालको अवस्था सिर्जना नगर्न प्राधिकरणले अनुरोध गरेको छ ।

त्यस्तै, हराएको मोबाइल सेट प्रयोग नगर्नसमेत प्राधिकरणले अनुरोध गरेको छ । हराएको मोबाइल सेट मोबाइल ट्रयाकिङमार्फत पत्ता लगाउन सकिने भएकाले सेट भेट्टाएमा सम्बन्धित व्यक्ति वा प्रहरीलाई बुझाउन समेत अनुरोध गरेको छ । त्यस्तै, दूरसञ्चारसम्बन्धी गुनासो गर्न सहज होस् भनी सेवा प्रदायकलाई टोल फ्री नम्बर समेत राख्न प्राधिकरणले आग्रह गरेको छ । दूरसञ्चारसम्बन्धी कुनै गुनासो भएमा अनलाइनमार्फत सोझै प्राधिकरणमा गुनासो गर्न सकिनेछ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७