‘जनकारबाही’ को चेतावनी दिएका सीके राउतले घोषणा गरे आन्दोलनका कार्यक्रम


८ कार्तिक २०७८, सोमबार
ck raut

जनकपुर, ८ कात्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन घोषणा गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

भ्रष्टाचार र बेतिथिविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरिएको डा. राउतका सचिवालयले जनाएको छ । कार्यक्रमानुसार कात्तिक ८ गते जिल्ला सदरमुकाममा सिटी जुलुस, ९ गते पालिकामा मोटरसाइकल र्‍याली, १० गते वडामा कोणसभा र मसाल जुलुस, ११ गते वडामा युवा दस्ता प्रशिक्षण र कात्तिक १२ गते जिल्ला सदरमुकाममा मसाल जुलुसलगायत गरिने जनाइएको छ ।

भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गएको बुधबार जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल निकास आयोजनाको कर्मचारी राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए । त्यसक्रममा पक्राउ परेका १७ कार्यकर्तालाई रिहा गर्नुपर्ने, आफ्ना नेता कार्यकर्तालाई पूर्ण सुरक्षा प्रदान गर्नुपर्नेलगायत माग राखेर पार्टीले आन्दोलनको घोषणा गरेको बताइएको छ ।

कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेकोप्रति आलोचना भइरहेका बेला राउतले उल्टै अब मेयर, सांसद र मन्त्रीमाथि जनकारबाही हुने चेतावनी दिएका छन् । जनमत पार्टीको कार्यशैलीको विरोधमा काठमाडौंमा प्रदर्शन समेत गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७