प्रहरी अस्पतालमा अनियमितताको आशंका, छानबिन गर्न बन्यो समिति


८ कार्तिक २०७८, सोमबार
dr asha

काठमाडौं, ८ कात्तिक । नेपाल प्रहरी अस्पतालमा अनियमितता भएको आशंकामा छानबिन अगाडि बढाइएको छ । अस्पताल प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहले अस्पतालमा आवश्यक सामग्री खरिद गर्दा अनियमितता गरेको आरोप लागेको छ ।

त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर परेको थियो । अख्तियारले अस्पतालमा भएको भनिएको अनियमितता छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

अनियमितता छानबिनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले जानकारी दिए । समितिमा आईजीपीको सचिवालयमा कार्यरत डिआईजी वसन्त लामा, उजुरी छानबिन शाखा र कानुन शाखाका प्रतिनिधिसहित ५ जना सदस्य छन् ।

अस्पताल प्रमुख डा. आशाले कमसल औषधि खरिद गर्ने गरेको र आवश्यक सामान नकिनेर अनावश्यक सामग्री किनेर मोटो रकम कमिसन खाने गरेको आरोप छ । प्रहरी अस्पतालका प्रमुख डा. सिंह र डिआईजी डा. मिनराज पाठक बीचमा विवाद छ । आफूलाई पछि पारेर सिंहलाई अस्पताल प्रमुख बनाएकोमा पाठक असन्तुष्ट थिए ।

नेपाली काँग्रेस निकट मानिने पाठक डा. आशालाई हटाएर आफू प्रमुख बन्ने चलखेलमा लागेको जानकारहरू बताउँछन् । अस्पतालमा भएको अनियमितता बारे राष्ट्रिय सतर्कता केन्द्रले पनि छानबिन गरिरहेको छ । एआईजी पोखरेल नेतृत्वको समितिलाई यथाशीघ्र छानबिन प्रतिवेदन बुझाउन कार्यादेश दिइएको प्रहरी प्रवक्ता कुवरले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७