नेपाली दूतावास लण्डनको कार्यबाहक राजदूतमा प्रवक्ता खनाल


८ कार्तिक २०७८, सोमबार

काठमाडौं, ८ कात्तिक । नेपाली राजदूतावास लण्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल कार्यबाहक राजदूत नियुक्त भएकी छन् । नेपाल सरकारको निर्णयअनुसार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल प्रस्थान गरेपछि रिक्त राजदूत पदका लागि खनाल कार्यबाहक राजदूत नियुक्त भएकी हुन् ।

राजदूतावासका तत्कालीन उपनियोग प्रमुख मिनिष्टर काउन्सेलर शरदराज आरण नेपाल परराष्ट्र मन्त्रालय सरुवा भएपछि रिक्त प्रवक्ता र सूचना अधिकारी पदमा खनाल नियुक्त भएकी थिइन् । पाल्पा जिल्लामा जन्मिएकी खनाल कपिलवस्तु हुँदै हाल काठमाडौंमा बसोवास गर्दै आएकी छन् ।

परराष्ट्र सेवामा एक दशकभन्दा बढी समय बिताइसकेकी खनालले यसअघि मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क सम्हाल्दै आएकी थिइन् । शाखा अधिकृतबाट जागिर शुरु गरेकी खनालले इजरायलस्थित नेपाली दूतावासमा समेत फस्ट सेक्रेटरीको रुपमा चार वर्षे कार्यकाल सम्पन्न गरिसकेकी छन् ।

बेलायतका लागि एक्काइसौं राजदूतको रुपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी करिब ८ महिना नपुग्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल फर्किएपछि नेपाली दूतावास लण्डन राजदूतबिहीन बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७