बाढीले विद्यालय बगरमा परिणत : पठनपाठन ठप्प, ६९४ विद्यार्थी अलपत्र


८ कार्तिक २०७८, सोमबार
Karnali river flood 3

जुम्ला, ८ कात्तिक । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ ।

अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय बन्द भएर भर्खरै सञ्चालनमा आएको थियो । तर यही कात्तिक १ गतेदेखि परेको निरन्तर वर्षाका कारण नदीमा आएको बाढीले विद्यालय नै बगाएकाले पठनपाठन ठप्प भएको विद्यालयका विद्यार्थी बताउँछन् ।

विद्यालय असोज ३० गतेदेखि सञ्चालन गरिएकामा कात्तिक १ गतेको बाढीले सबै बगायो । उक्त विद्यालयका प्रधानाध्यापक जाज्वाल्यराज न्यौपानेले भने, ‘विद्यालय बगर बनेको छ । पठनपाठन सञ्चालन गर्न कठिन छ । बाढीले यहाँका विद्यार्थीको भविष्य खोसेको छ । बगाउन नसकेका केही भवनमा पनि तत्काल कक्षा सञ्चालन गर्न पनि नसकिने अवस्था छ ।’

उनका अनुसार विद्यालयको कक्षा कोठामा बालुवा थुप्रिएको छ भने झ्याल, ढोका फुटेका छन् । उलने भने, ‘डेस्क–बेञ्च छैनन् । तत्काल मर्मत गर्न सकेमा ६ कोठामा विद्यार्थीलाई पढाउन सकिन्छ ।’ विद्यालय बगर बनेपछि विद्यार्थी पढ्न समेत डराइरहेको उनको भनाइ छ । ‘सामान्य वर्षा हुने बित्तिकै विद्यार्थी र अभिभावकले विद्यार्थी स्कुल पठाउन सक्ने अवस्था रहेन । अहिले विद्यालयमा अध्ययनरत ६९४ विद्यार्थी अलपत्र छन्’ उनले भने ।

विद्यालयको ६५० वर्गमिटर घेरबारको कुनै निसाना नरहेको उनको भनाइ छ । विद्यालयलाई नमूना विद्यालयका रुपमा अघि बढाउनका लागि कार्यक्रम सुरु भइसकेको थियो । एक करोड ५० लाखमा दुई पक्की भवन निर्माण हुँदै थिए । यो शैक्षिकसत्रदेखि नमूना विद्यालय बनाउने योजना थियो ।

‘डिजिटल प्रविधि अपनाएर जिल्लाकै उत्कृष्ट विद्यालय बनाउने गतिमा काम भइरहेको थियो’, प्रधानाध्यापक न्यौपानेले भने, ‘न विद्यालय नमूना बनाउन सकियो न त बाढीबाट बचाउनै सकियो । फेरि सुरुदेखि काम प्रारम्भ गर्नुपर्ने भयो ।’

उनका अनुसार बाढीले विद्यालयको भवन, घेराबार, खेलकूद मैदान, स्टोर गरेर राखेका डेस्क बेञ्च, नयाँ विद्यालय बनाउन राखिएको फर्निचर, सरिया तीन बण्डल, भवन निर्माणका लागि राखिएको काठ, शौचालय, मञ्च सबै बगाएको छ । बाढीले एक करोड ६६ लाख ३५ हजार बराबरको मालसामानमा क्षति पु¥याएको विद्यालय प्रशासनले जनाएको छ ।

बाढीले जिल्लाको तातोपानी– ७ र तिला गाउँपालिकाको सेतीबाडा रहेको विद्यालय पनि डुबाएको छ । बाढीले क्षति पुर्‍याएको विद्यालयमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले अनुगमन गरेका थिए । अनुगमनपश्चात् उनले भने, ‘विद्यालयलाई पहिलेकै अवस्थामा सञ्चालन गर्न सबै निकायको साथ अनिवार्य रहेको छ । तत्काल विद्यालय मर्मत गरेर भए पनि पठनपाठन सञ्चालन गर्न यहाँका सरोकार निकायले पनि ध्यान दिनुपर्ने भएको छ ।’ शान्ति पूर्णरुपमा र भयरहित वातावरणमा पठनपाठनको व्यवस्था मिलाउन यहाँका विद्यार्थीले माग गरेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७