नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न युनेस्को तयार, प्राथमिकता तोक्न आग्रह


८ कार्तिक २०७८, सोमबार
devendra maical IzuSuaSFLz

काठमाडौं, ८ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनेस्को नेपाल प्रमुख माइकल क्राफ्टबीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको हो ।

युनेस्को प्रमुख क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताएका थिए । ‘नेपाल प्राकृतिक एवम् सांस्कृति हिसाबले भरिपूर्ण देश हो,’ माइकलले भने, ‘हामी नेपालमा काम गर्न आएका हौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकता तोकोस् ।’

नेपाल सरकार र मन्त्रालयसँग सहकार्य गरी शिक्षा क्षेत्रमा काम गर्न इच्छुक रहेको क्राफ्टले बताएका थिए । मन्त्री पौडेलले युनिस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको बताए ।

‘दुई पक्षीय छलफल गरेर ठोस कार्यक्रम तयार गर्छौं’ मन्त्री पौडेलले भने, ‘नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कार्यक्रमसहित सहकार्य गर्न तयार छ ।’ मन्त्री पौडेलले शिक्षा नै सबै ढोका खोल्न माध्यम भएकाले युनेस्कोलाई लगानी गर्न आग्रह गरे ।

काठमाडौंको गोकणेश्वर नगरपालिका–४ मा युनेस्कोग्राम, संग्राहलय बनाउने काम भइरहेको विषयमा मन्त्री र माइकलबीच छलफल भएको छ । भेटवार्तामा युनेस्कोका शिक्षा अधिकृत डा. बलराम तिमिल्सेना, युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीलगायत प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७