नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ


८ कार्तिक २०७८, सोमबार
Nepal Bar Association

काठमाडौं, ८ कात्तिक । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले न्यायालय सम्हाल्न नसक्ने निष्कर्ष निकालेको छ ।

आज (सोमबार) बसेको बारको बैठकले कार्यपालिकासँगको साँठगाठ र अन्य विवादका कारण प्रधानन्यायाधीश राणाले न्यायालय सम्हान नसक्ने भन्दै निकास दिनुपर्ने निष्कर्ष निकालेको बारका एक पदाधिकारीले जानकारी दिए । यद्यपि बारले यसको औपचारिक निर्णय भने मंगलबार बस्ने बैठकले गर्नेछ ।

‘हामीहरू भोलि पुनः बैठक बस्छौं,’ बैठकपछि बारका एक पदाधिकारीले भने, ‘बारका अन्य सल्लाहकारहरूसँग भोलि छलफल गरेपछि मात्र हामी निर्णयमा पुग्छौं ।’ प्रधानन्यायाधीशको काम कारबाहीले न्यायालयको निष्पक्षता र विश्वसनियतामाथि प्रश्न उठेपछि नेपाल बारले न्याय क्षेत्रलाई विवादरहित र मर्यादित बनाउन अदालत र नेतृत्वलाई सुझाव दिँदै आएको छ ।

‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘यसको औपचारिक निर्णय र सार्वजनिक भोलि हुन्छ । भोलि सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्छौं ।’ अध्यक्ष श्रेष्ठले ‘निकास दिने’ शब्दावलीको अर्थ मंगलबार मात्रै स्पष्ट हुने बताए ।

‘हामीले अहिले उहाँले निकास दिनुपर्छ भनेका हौं’, उनले भने, ‘न्यायपालिकाभित्रै मिलाउन सक्नु भएन । उहाँको काम कारवाहीमा अरु सहकर्मीहरु नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि । त्यसैले निकास दिनुपर्छ भनेका हौं । यति भनिसकेपछि पनि निकास के हो ? निकास के हो ?? भन्नै पर्दैन । स्पष्ट छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७