गगनलाई प्रधानमन्त्रीले भने, ‘लोकतन्त्र मासिन्छ भन्ने चिन्ता नगरी आनन्दले सुत्नुहोस्’


२७ फाल्गुन २०७४, आईतवार
KP Oli and Gagan Thapa

काठमाडौँ, २७ फागुन :  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र मासिन्छ’ भन्ने चिन्ता आजैदेखि फाल्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनेक्रममा कांग्रेसका सांसद गगन थापाले उठाएको प्रश्नको जवाफ दिँदै भने, ‘वर्तमान सरकारले नै लोकतन्त्रको रक्षा गर्छ । लोकतन्त्र मासिन्छ भन्ने अनावश्यक चिन्ता लिएर तनावमा नपरी आनन्दले सुत्नुहोस् ।’

KP Oli and Gagan Thapa

उनले वर्तमान सरकारले लोकतन्त्रको रक्षा नै गर्ने भएकाले अनावश्यक चिन्ता नलिन गरे । उनले सरकार समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै लोकतन्त्रमा मात्रै समृद्धिको यात्रा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

सरकारले औचित्यका आधारमा संविधान संशोधन गर्ने विश्वास व्यक्त गर्दै संविधान संशोधन नै हुन सक्दैन भनेर आफूले कहिल्यै नभनेको बताए भने, ‘सरकारले औचित्यका आधारमा संविधान संशोधन गर्छ । सबै असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउँछ ।’

म नेपालको प्रधानमन्त्री हुँ चिन्ता नगर्नुहोस्

लडाइँ, झगडाबाट मुलुकले मुक्ति पाइसकेको भन्दै उनले अब त्यसको कुनै आवश्यकता नभएकाले देश एकजुट छ भन्ने सन्देश दिन सबै पक्षको समर्थन चाहेको उल्लेख गरे । सरकारले जनविरोधी काम गर्यो भने खबरदारी नगरुन् भन्ने आफ्नो उद्देश्य नरहेको उनको भनाई छ । भने, ‘हामीसँग भएको दुईतिहाई मत देश एकजुट छ भन्ने सन्देश जनतालाई र विश्वलाई दिन आफूले सबैलाई आग्रह गरेको हो ।’
उनले आफू एमाले र माओवादी केन्द्रको मात्रै प्रधानमन्त्री नभई नेपालको प्रधानमन्त्री भएकाले कुनै पनि शंका नगर्न अनुरोध गरे । भने, म प्रधानमन्त्री एमालेको होइन, एमाले र माओवादी केन्द्रको मात्र होइन, नेपालको प्रधानमन्त्री हो । म त्यहीअनुसार काम गर्छु । एमाले र माओवादी केन्द्रको तालमेलको नीतिअनुसार मलाई प्रधानमन्त्रीमा पठाएको हो । तर म अहिले देशको प्रधानमन्त्री हो ।”

वर्तमान सरकारले देशको पक्षमा काम गर्ने दृढता पेश गर्दै प्रधानमन्त्रीले सबै प्रकारको समस्याको समाधान तीव्रगतिका साथ गर्न चाहेको उल्लेख गरे । सरकारले गन्तव्य तोकेर, लक्ष्य तोकेर, बाटो तय गरेर नीति तयार गरेर योजना बनाएर अगाडि बताए । प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकार हिँड्दै जाँदा कहाँ पुगिएला भनेर होइन लक्ष्य तोकेर यात्रा तय गरेको स्पष्ट पारे ।

जनताका सामु गरेको सबै प्रतिबद्धता पूरा गरेरै छाडिने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले आफ्नो प्रतिबद्धतामा कुनै कमी नआएको बताए। वादविवाद प्रतियोगिता गरेर केही फाइदा नभएको भन्दै उहाँले आफू परिणाममा विश्वास गर्ने र देशको अर्थतन्त्रमा सकारात्मक परिणाम निकालेरै छाड्ने स्पष्ट पारे । जनताको जीवनमा परिवर्तन ल्याउने गरी वर्तमान सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले आफ्नो प्रतिबद्धतामा कुनै पनि कमी नआउने उल्लेख गरे ।

दण्डहीनतालाई सहन सकिन्न

प्रधानमन्त्रीले कैलाली घटनाका दोषीलाई गिरफ्तार गरेर कारबाही गरिएको सदनलाई जानकारी दिए । भने, ‘बोक्सी प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्न निर्देशन दिइएको छ । छाडिएका दोषीलाई पुनः कारबाही गर्न पक्राउ गरिएको छ ।”

सामाजिक पछौटेपनका कारण बोक्सीको घटना घटेको भन्दै प्रधानमन्त्री ओलीले दोषीलाई कडा कारबाही गरेर छाड्ने र कोही कसैलाई पनि छुट नदिइने स्पष्ट पारे । उनले वर्तमान सरकारले सामाजिक अपराध, मानवता विरोधी घटना र दण्डहीनतालाई सहन गरेर नबस्ने र सह्य नहुने पनि स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७