टी–२० विश्वकप : अफगानिस्तानले स्कटल्यान्डलाई हरायो


९ कार्तिक २०७८, मंगलवार
Afghnistan1635181940 scaled

काठमाडौं, ९ कात्तिक । टी–२० विश्वकप क्रिकेट सुपर १२ अन्तर्गत पहिलो खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई हराएको छ ।
शारजाह क्रिकेट स्टेडियममा सोमबार भएको प्रतिस्पर्धामा स्कटल्यान्डलाई १३० रनले हराउँदै अफगानिस्तानले शानदार जित हासिल गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० दशमलव २ ओभरमा अल आउट हुँदै ६० रनमा समेटियो ।

अफगानिस्तानका लागि नजिबुल्लाह जर्दानले सर्वाधिक ५९ रन बनाए भने रहमानुल्लाह गुर्बाजले ४६, हज्रातुल्लाह जजईले ४४, मोहम्मद सहजादले २२ र कप्तान मोहम्मद नाबीले ११ रन जोडे । बलिङतर्फ स्कटल्यान्डका सफ्यान शरिफले २ तथा जोस डेभी र मार्क वाटले १÷१ विकेट लिए ।

यस्तै स्कटल्यान्डका जर्ज मुन्सेले २५, क्रिस ग्रिभ्सले १२ र कायल कोचरले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । स्कटल्यान्डका पाँच खेलाडी शून्य रनमा आउट भएका थिए । स्कटल्यान्डलाई सस्तैमा समेट्न अफगानिस्तानका मुजिब उर रहमानले सर्वाधिक ५ विकेट लिएका थिए भने रासिद खानले ४ र नवीन उल हकले १ विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७