पहिरोले न परिवार न बस्ती


९ कार्तिक २०७८, मंगलवार
pahiro

बझाङ, ९ कात्तिक । पहिरोले परिवारसहित सर्वस्व लगेपछि कलकबहादुर सार्की दिनभर टोलाइरहन्छन् । आमा हर्कुदेवी, श्रीमती ३० वर्षकी ईश्वरी, छोराहरू १२ वर्षका सन्दीप, ६ वर्षका सरोज र छोरी एक वर्षकी सपना मात्रै आँखामा झलझली आइरन्छन् ।

‘सर्वस्व गुम्यो । दैवले यस्तो पीडा दिँदो रहेछ’, आँसु झार्दै कलकले भने, ‘भगवान् भेटिने भए सोध्ने मन थियो– दैव किन यस्तो गर्‍यौ ?’ बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरो खस्दा कलकसहित दाजुभाइको परिवारका १८ र छिमेकी नरबहादुर पार्कीको परिवारका पाँच जना बेपत्ता भएका थिए । तीमध्ये सार्की परिवारका तीन र पार्की परिवारका एक जनाको शव भेटिएको छ । बाँकीको खोजी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेका छन् ।

कात्तिक २ गते बिहान ४ बजेको थियो। दुई दिनदेखि झिमझिम वर्षा भइरहेको थियो । घर नजिकै पहिरो खस्न थालेपछि छिमेकी पार्की अँध्यारोमै परिवारका पाँच सदस्यलाई लिएर कलक कहाँ आएका थिए । जसमा आमा उजलीदेवी, श्रीमती हासुदेवी, छोरा आयुस, छोरीहरू हिमा र सीमा थिए ।

‘नरबहादुर काकाले घरमा दुई–तीन कट्टा खाद्यान्न छ । त्यसलाई पनि सारौं । पानी त कति दिनसम्म पो पर्ने हो भन्नुभयो’, कलकले भने, ‘हामी दुई जना चामल लिन गइरहेका थियौ । नरबहादुर काकाको घर पुगेकै थिएनौं । ड्याम्म ठूलो आवाज आयो । अँध्यारो थियो, केही पत्तो पाइएन तर सर्वस्व लगेछ ।’ उनको घर भएको स्थानमा माथिको ढोगदिने धार (डाँडाको नाम)बाट खसेको पूरै पहिरो पसेको छ । वर्षा रोकिएको पाँच दिनसम्म पनि दलदल नै छ । ६ दाजुभाइमध्ये कलक जेठा रहेछन् । तीन भाइको परिवारै पहिरोमा बेपत्ता भएको छ । दाजुभाइका ६ र पार्कीको एक गरी सात घरको नामनिशान छैन ।

कलकका काइलो भाइ राम दसैंको टीका थाप्न श्रीमतीसहित तल्कोटस्थित ससुराली गएका थिए । उनकी १० वर्षकी छोरी सरिता समेत उतै गएकाले काकाकाकीसहित तीन जना जोगिए । बुवा गगने र कान्छो भाइ सुरेश भारतमा छन् । २४ सदस्यीय परिवारमा तीन ससुराली, २ भारत र कलक खाद्यान्न सार्न घरबाट निस्केकाले बाँचे । बुवा र भाइ भारतमा बेहोस भइरहेका छन् । घर आउन पनि कसरी ? भारतमा रहेका आफन्तले बुवा र भाइलाई पु¥याइदिन्छु भन्नुभएको छ’, कलकले भने ।

कलकपछिका धनबिरे सार्की, उनकी श्रीमती सीता, छोरा ८ वर्षका प्रभात, छोरी ६ वर्षकी भूमिका, छोरा ३ वर्षका चिरिञ्जीवी पहिरोमा बगे । यीमध्ये सीताको शव पाइएको छ । त्यसपछिका सुरेश सार्की, उनकी श्रीमती कम्मा, छोराहरू ८ वर्षका सुवास, ६ वर्षका विकास र छोरी १ वर्षकी अनु पनि पहिरोमा बेपत्ता थिए । यीमध्ये विकासको शव भेटिएको थियो । अर्का भाइ मदनको पनि तीन जनाको परिवार बेपत्ता छ । मदन, उनकी श्रीमती कलु र छोरी २ वर्षकी एलिसा बेपत्ता छन् ।

कलकका बाजे भले सार्की थलारा–३ देउलाबाँजबाट डिख्लामा सरेका हुन् । ‘बाजेका पालादेखि नै हामी डिख्ला सरेका हौं । अहिलेसम्म पहिरो आएको थिएन । मेरो घरमा त पहिरो आउला भन्ने कल्पना समेत गरेको थिइन् । तर, पूरै डाँडो नै भाँसिएर आयो’, कलकले भने ।
सरकारले पीडितलाई सुरक्षित स्थानमा सार्नुपर्ने माग उनले गरे । ‘यहाँ सबै पहिरोले लगेर गयो । २३ जना एकै चिहान भएको ठाउँमा बस्नु पनि कसरी ?’ स्थानीयवासी अमृता सार्कीले बस्ती स्थानान्तरणको विकल्प नभएको बताइन् ।

‘अहिले पनि पहिरो आइरहेको छ’, उनले भनिन् । बेपत्तालाई मृतक घोषणा गरी बाँचेकाहरूको व्यवस्थापन सरकारले गर्नुपर्ने उनको भनाइ छ । ‘पूरै ढोगदिने डाँडो खसेको छ । तल नदी छ । घर भएको ठाउँको नाम निसान छैन । अब शव पनि के पाइएलान्’, उनले भनिन्, ‘त्यसैले मृतक घोषणा गरेर सरकारले राहत र क्षतिपूर्ति दिनुपर्छ ।’ पीडित पार्कीले बेपत्तालाई मृत घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने माग गरे । ‘परिवारमा म मात्रै बाँचें । खाने, बस्ने केही बाँकी रहेन’, उनले भने, ‘सरकारले मलाई खाने, बस्ने व्यवस्था गरिदिनुपर्‍यो ।’ उनको परिवारका सदस्यमध्ये आयुस मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङले दिएको तथ्यांकअनुसार कात्तिके झरीका कारण ११३ घर पूर्ण क्षति भएको छ । ४५ घरमा सामान्य क्षति पुगेको छ । ८८६ परिवार विस्थापित भएका छन् । थलारा, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकामा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको छ ।

गाउँ पस्यो सेती नदी
डोटीका आदर्श र जोरायल गाउँपालिकामा पनि बाढीपहिरोले क्षति गरेको छ । आदर्श–६ बबिनामा २५ स्थानीयवासीका घर सेती नदीले बगाएको छ । ‘शरीरमा लगाएको लुगाबाहेक केही बचेन । सबै सेतीले लग्यो’, हीरादेवी बोहराले भनिन्, ‘किन्न जानका लागि सेतीमा भएको झोलुंगे पुल पनि बगायो ।’ उनले मुनितिर सेती र घरमाथिको खहरेले गर्दा कतै जान नसकेको बताइन् । ‘हेर्दाहेर्दै घर ढल्यो । हामी भागेर बच्यौं’ उनले भनिन्, ‘सरकारले कतै बासको व्यवस्था गरिदेओस् ।’

बैतडीको ढुंगाड क्षेत्रमा पनि सेती नदी गाउँ पसेपछि १ सय ५० घरपरिवार जोखिममा छन् । बस्ती टापु जस्तै भएको छ । ‘पश्चिम सेती बन्छ भनेर कुनै पनि विकास नभएको ठाउँ हो यो । अब यो गाउँको पुनर्निर्माण गरिएन भने सबै जोखिमा छन्’, स्थानीयवासी विष्णु चन्दले भने, ‘स्थानान्तरण गर्नुको विकल्प छैन। ’

डोटी र बैतडी जोड्ने झोलुंगे पुल बगेको छ । उनीहरूलाई खाद्यान्न लिन बजार जान नसक्ने अवस्था छ । ‘अहिलेसम्म सेतीमा यति धेरै बाढी आएको थिएन । ज्येष्ठ नागरिकले पनि सेतीमा पहिलो पटक यति ठूलो बाढी देखे’, स्थानीय शिक्षक राजेन्द्र चन्दले भने, ‘बस्ती टापु भए पनि भगवानले जोगायो ।’

ढुंगाड क्षेत्र कात्तिक २ गते सेतीले डुबाएको थियो । महिला, बालबालिका र वृद्धवृद्धालाई सुरक्षित स्थानमा सारिए पनि उद्धारमा खटिएका ६० युवा बस्तीमै फसेका थिए । हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि मौसम खराबीका कारण सम्भव भएको थिएन । ‘अर्को दिन त सेती घटिहाल्यो । तर, २ गतेका दिन र रात यसरी बित्यो कि भन्नै सकिँदैन’ स्थानीयवासी विष्णु चन्दले भने, ‘अन्तिम रात हो भन्ने लागेको थियो । बिहानसम्म सेती घटेछ ।’ सरकारले पश्चिम सेतीका नाममा ढुंगाडको विकास रोकेको आरोप उनले लगाए ।

ढुंगाड क्षेत्र पश्चिम सेतीको मुख्य ड्याम क्षेत्र हो। त्यसको ५ किलोमिटरमा पश्चिम सेतीको बाँधको सर्भे गरिएको छ । पश्चिम सेती बने पूरै बस्ती उठाउनुपर्ने भएकाले सरकारले त्यहाँ पूर्वाधार निर्माण, तटबन्ध निर्माणमा लगानी गरेको छैन । स्थानीयवासीले सकेसम्म बस्ती स्थानान्तरण गरिनुपर्ने र नत्र जनताको तटबन्धजस्तो छुट्टै कार्यालय खोलेर बलियो तटबन्ध बनाई दिनुपर्ने माग गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आइतबार बझाङका थलारा र खप्तडछान्ना, डोटीको आदर्श गाउँपालिका र बैतडीको ढुंगाड क्षेत्रका पीडितलाई राहत वितरण गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले तात्कालिक राहत मात्रै वितरण गरेको बताएका थिए । उनले क्षतिको पुनर्निर्माणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउने बताए । ‘अहिले तात्कालिक राहत हो । यसपछि हामीले भत्किएका संरचना निर्माण, स्थानीयवासीलाई स्थानान्तरणलगायत योजना बनाउने छौं’, उनले भने । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७