काठमाडौंका सबै स्थानीय तहमा आजदेखि एस्ट्राजेनेका खोप लगाइँदै


९ कार्तिक २०७८, मंगलवार
corona khop 1
फाइल फोटो

काठमाडौं, ९ कात्तिक । काठमाडौंका आठ वटा नगरपालिकामा आज (मंगलबार) देखि एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाइने भएको छ ।
काठमाडौंका आठ वटै नगरपालिकामा १८ वर्षमाथिका एस्ट्राजेनेकाको पहिलो खोप लगाएकाहरुलाई आजदेखि दोस्रो डोज खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको हो ।

काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाइने छ ।

स्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा पाँच वटा अस्पतालबाट पनि एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन पाइनेछ । वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप पाइनेछ । यी अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछ भने पालिकाहरुका खोप केन्द्रमा तीन दिन सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको हकमा भोलिदेखि सबै वडामा खोप केन्द्र सञ्चालन हुने र आवश्यकताको आधारमा खोप लगाउने अवधि पनि थप गर्न सक्ने पनि सूचनामा जनाइएको छ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड बोक्नु पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७