पाँचथरमा बाढीमा बेपत्ता थप एकको शव फेला, मृतक संख्या ३१ पुग्यो


९ कार्तिक २०७८, मंगलवार
pahiro

पाँचथर, ९ कात्तिक । पाँचथरमा बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६, सिवाका प्रेम आलेमगरको शव सोमबार फेलापरेको हो ।

मालुवामा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगर समेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थानीयवासी र प्रहरीले खोजी जारी राखेकामा सम्पदाको शव तीन दिनअघि यहाँको शिवाखोलामा फेलापरेको थियो । प्रेमको शव सोमबार शिवाखोलामै फेलापरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यससँगै पाँचथरमा बाढी–पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । बाढी–पहिरोमा परी अझै तीन बेपत्ता छन् । उनीहरू सबै जिल्लाको मिक्लाजुङ गाउँपालिकाका हुन् ।

बेपत्ताको खोजीका लागि प्रहरीको तालिमप्राप्त कुकुर झिकाइएको छ । तालिमप्राप्त कुकुरसहितको टोली सोमबार मिक्लाजुङ–४, रबि आइपुगेको र आजदेखि खोजी सुरु हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७