न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराको जवाफ : सडकमा माग्दैमा राजीनामा दिन्नँ


९ कार्तिक २०७८, मंगलवार
Cholendra Rana sKByQ3O0WS

काठमाडौं, ९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने स्पष्ट पारेका छन् । मार्ग प्रशस्त गरिदिन आग्रहसहित आफूलाई भेट्न आएका सर्वोच्च अदालतका १५ न्यायाधीशलाई जबराले यस्तो जवाफ दिएका हुन् ।

पछिल्लो समयको विवादबीच चौतर्फी घेराबन्दीमा परेका प्रधानन्यायाधीश जबराले कसैको दबाब र प्रभावमा परेर राजीनामा नदिने अडान न्यायाधीशहरुसँग पनि लिएका हुन् । उनले आफ्नो नियुक्ति संवैधानिक भएकाले बाहिरबाट कुरा उठ्दैमा राजीनामा दिनुपर्छ भन्ने नरहेको जवाफ न्यायाधीशरुलाई दिएका हुन् । ‘मेरो नियुक्ति संवैधानिक नियुक्ति हो । बाहिरबाट कुरा उठ्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन’, जबराले न्यायाधीशहरुलाई दिएको जवाफ उद्धृत गर्दै सर्वोच्च स्रोतले भन्यो ।

उनले सर्वोच्चका अन्य कतिपय न्यायाधीशहरुमाथि पनि प्रश्न उठेकाले उनीहरुले पनि राजीनामा दिने भए आफू त्यसका लागि तयार रहेको बताएका छन् । ‘तपाईंहरुमध्ये कतिपयमाथि पनि प्रश्न उठेको छ । तपाईंहरु दिनुहुन्छ भने म पनि राजीनामा दिन्छु’, जबराले भने, ‘अहिले कतिपयमाथि पनि प्रश्न उठेको छ । जो जोमाथि प्रश्न उठ्छ, उनीहरुले राजीनामा दिँदै जाने हो त ?’ ‘यदि त्यसो होइन भने म पनि राजीनामा दिन्नँ’, उनले भने, ‘मेरो संवैधानिक नियुक्ति हो । मैले बाहिरिनु परेमा संवैधानिक बाटो नै अख्तियार गर्नेछु ।’

फुल कोर्ट बहिष्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् ।

उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताएर सक्ने भए महाअधियोग लगाऊँ भन्ने संकेत गरेको स्रोतको दाबी छ । अहिले जबरालाई भेटेका न्यायाधीशहरु छलफलमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७