नेपाल एयरलाइन्सलाई घाममा सुकाएर निजीलाई पोस्ने धन्दा गर्दिन : पर्यटनमन्त्री आले


९ कार्तिक २०७८, मंगलवार
Prem Ale

काठमाडौं, ९ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्सलाई पोस्ने काम भएको बताएका छन् । उनले निजी एयरलाइन्ससँग सेटिङ गरेर उनीहरूलाई रातारात करोडपति बनाउने र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम आफूबाट नहुने उनले बताए ।

‘नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्ससँग सेटिङ गरेर रातारात करोडपति बनाउने, नेपाल एयरलाइन्सको ग्राउन्ड हेन्डलिङ व्यक्तिगत स्वार्थका लागि अरूलाई दिने धन्दा यो प्रेम आलेले गर्दैन’, नेपाल पर्यटन बोर्डमा आयोजित स्वागत कार्यक्रममा उनले भने ।

जतिसक्दो छिटो ‘वाई १२’ जहाजको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए । १०४ दिनदेखि नेपाल वायुसेवा निगममा लागेको ताला आफू मन्त्री भएको ४८ घण्टाभित्र वार्ताको माध्यमबाट खुलाएको भन्दै निगमका कर्मचारीहरूको माग १५ दिनभित्र पुरा गर्ने प्रतिबद्धता जनाएको पनि बताए । ‘निगमका कर्मचारीहरूको मागमध्ये अध्यक्ष नियुक्त गर्ने एउटा माग पूरा पनि भइसकेको छ’, उनले भने ।

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । मन्त्री आलेले पर्यटन क्षेत्रमा रहेको समस्या समाधान गर्न निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले पर्यटन क्षेत्रको समस्या समाधानमा ‘डिस्टिङ्सन’ ल्याउने गरी काम गर्ने बताए ।

अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरूलाई ‘रैती’ व्यवहार गर्ने गरेको उनको आरोप छ । ‘अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ‘रैती’ ठान्ने गरेको छ । आफू मालिक अरू रैती । आफूले बजेट विनियोजन गर्ने भएका कारण अरू मन्त्रालयलाई रैतीको जस्तो व्यवहार अर्थ मन्त्रालयले गर्ने गरेको छ’, उनले भने । सोही कारण पहुँच हुनेहरूले धेरै बजेट पाउने र नहुनेले कम बजेट पाउने गरेको उनको भनाइ थियो । मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रक्रिया अगाडि बढाउने पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७