सर्दै कांग्रेस महाधिवेशन


१० कार्तिक २०७८, बुधबार
Congress

काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसले १४औं महाधिवेशनको मितिलाई हेरफेर गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्धारित ९ देखि १३ मंसिरसम्मको मितिलाई २० मंसिरबाट सुरु गर्नेगरी सार्ने विषयमा छलफल भएको जानकारी दिए ।

‘मिति धेरै धकेल्ने कुरा छैन, ९ देखि १३ को साटो २० मंसिरबाट सुरु गर्ने भन्ने विषयमा छलफल भयो, त्यसमा एकदुई दिन तलमाथि होला, निर्वाचन समितिलाई त्यहीअनुसार काम अघि बढाउन भनिएको छ,’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।

बैठकमा निर्वाचन समितिले भने निर्धारित मितिमा अब महाधिवेशन गर्न सकिने सम्भावना नरहेकोबारे पदाधिकारीहरूलाई जानकारी गराएको थियो । समितिले अझै पनि १३ जिल्लामा वडा अधिवेशन गराउनेतर्फ ध्यान नदिनु ठीक नभएको भन्दै नेतृत्वलाई तिहारअघि नै ती जिल्लामा वडा अधिवेशन गर्ने वातावरण बनाउन ध्यानाकर्षण गराएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले भने निर्वाचन समितिलाई सहज हुनेगरी काम अघि बढाउन पार्टीले सहयोग गर्ने आश्वासन दिएका छन् । देउवाको आश्वासनपछि वरिष्ठ नेता पौडेलले भने महाधिवेशनका विषयमा तयारी गरेरै अघि बढ्ने हो भने तयारी समिति तथा उपसमितिहरू बनाउनुपर्ने भन्दै त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवालाई आग्रह गरे । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७