घट्न थाल्यो काठमाडौं उपत्यकाको तापक्रम


१० कार्तिक २०७८, बुधबार
kathamandu scaled

काठमाडौं, १० कात्तिक । देशका केही भागमा आज (बुधबार) पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ ।

मौसमविद् निराजन सापकोटाका अनुसार देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उनका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

‘आज वागमती, सूदूरपश्चिम प्रदेशका केही पहाडी भू–भाग तथा पूर्वी पहाडमा पनि सामान्य वर्षाको सम्भावना रहेको छ’, मौसमविद् सापकोटाले भने, ‘यी ठाउँमा पनि सबै स्थानमा वर्षा हुन्छ भन्ने छैन । पानी पार्ने उल्लेखनीय कुनै मौसमी प्रणाली छैन । स्थानीय वायुको प्रभाव रहेकाले यो पानी पर्न लागेपछि आफैं हराएर पनि जान्छ ।’

काठमाडौंमा घाम लाग्ने र बादल लाग्ने भइरहे पनि वर्षाको सम्भावना भने नरहेको उनको भनाइ छ । यसैबीच, तापक्रम केही घट्न थालेको छ । आज बिहान काठमाडौंको तापक्रम १३.५ डिग्री सेल्सियस रहेको छ । हिजो बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस रहेको थियो । अब रातको समयमा आकाश खुला हुने र शित पर्ने हुँदा चिसो बढ्दै जाने उनको भनाइ छ ।

देशका केही स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७