पाकिस्तानको लगातार दोस्रो जित, न्युजिल्याण्ड ५ विकेटले पराजित


१० कार्तिक २०७८, बुधबार
pakistant20 6W4lvSdz0f

काठमाडौं, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । यूएईको सारजाहमा गए राति भएको खेलमा पाकिस्तानसँग न्युजिल्याण्ड ५ विकेटले पराजित भएको हो ।

न्युजिल्याण्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा मोहमद रिजवानले ३३, आसिफ अलीले २७, शोयब मलिकले २६, फखर जमान, मोहमद हाफिज र इमाद वासिमले ११–११ रन जोडे । कप्तान बाबर आजमले भने ९ रन मात्र जोड्न सके ।

न्युजिल्याण्डका लागि इश सोधीले २ तथा मिचेल स्टानर, टिम साउथी र ट्रेन्ट बोल्टले १-१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्य्ल मिचेलले २७÷२७ रन जोडे भने कप्तान केन विलियम्सनले २५, मार्टिन गुप्टिलले १७ तथा ग्लेन फिलिप्सले १३ रन बनाए ।

पाकिस्तानका हरिस राउफले ४ विकेट लिँदा शहिन साह अफ्रिदी,इमाद वासिम र मोहमद हाफिजले १-१ विकेट लिए । जितसँगै २ खेलमा ४ अंक जोडेको पाकिस्तान समूह २ को शीर्ष स्थानमा छ । पाकिस्तानले यस अघि भारतलाई १० विकेटले हराएको थियो । हिजै भएको अर्को खेलमा दक्षिण अफ्रिकाले साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७