सर्वोच्च विवाद : आज पनि १५ न्यायाधीशहरुको बैठक बस्दै, सबै मुद्दाको सुनुवाइ अनिश्चित


१० कार्तिक २०७८, बुधबार
Sarbochha
फाइल फोटो

काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध गुटबन्दी गरेका सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको बैठक आज (बुधबार) पनि बस्ने भएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका १५ जना बहालवाला न्यायाधीशहरुको बैठक आज बिहान साढे ११ बस्न लागेको हो । यसअघि सोमबारदेखि न्यायाधीशहरूले जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिएका छन् । उनीहरुले मंगलबारको बैठकमा प्रधानन्यायाधीशको राजीनामा माग्ने सामुहिक अडान राखेका थिए ।

त्यस्तै प्रधानन्यायाधीश जबराले तोक्ने कुनै पनि पेसी नहेर्ने उनीहरुको अडान छ । मंंगलबार बिहान मात्र न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई सामुहिक रुपमा भेटेर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तर, जबराले ‘प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको’ जवाफ फर्काएका थिए ।

सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीशहरु राजीनामा नदिने र दिनैपर्ने अडानमा बसिरहँदा इजलास भने प्रभावित बनिरहेको छ । अति महत्वपूर्ण बन्दी प्रत्यक्षीकरण लगायतका मुद्दाको पनि सुनुवाइ हुन सकेको छैन । बरु प्रधानन्यायाधीश महाभियोग लगाएर हटाउन चुनौति दिइरहेका छन् भने संसदमा रहेका राजनीतिक दलहरु ‘तैं चुप, मै चुप’ को अवस्थामा छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीशको बचाउ हुने खालको अभिव्यक्ति दिएपछि प्रधानन्यायाधीशमाथि महाभियोग लागिहाल्ने अवस्था पनि देखिँदैन । ‘मिडियाले लेख्दैमा आफ्नो गल्ती नहुने’ अभिव्यक्ति दिने प्रधानन्यायाधीश पनि गल्ने स्थितिमा नहुँदा बुधबार पनि न्यायालयमा सुनुवाइ नहुने निश्चित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७