न्यायाधीशहरुको बहिष्कारकै बीच प्रधानन्यायाधीशले शुरु गरे इजलास


१० कार्तिक २०७८, बुधबार
Cholendra Rana sKByQ3O0WS

काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ शुरु भएको छ । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने पूर्ण इजलास पनि तोकेका थिए । सो इजलासमा प्रधानन्यायाधीश राणाले केहीबेर अघिदेखि सुनुवाइ शुरु गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज (बुधबार) का लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका छन् । जसमा दुई वटा एकल, एउटा संवैधानिक र ९ वटा संयुक्त इजलास छन् ।

प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेका पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ । त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।

अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग गरेर इजलास बहिष्कार गरिरहँदा प्रधानन्यायाधीशले आफू मात्रै रहने इजलास तोकेर उनीहरुलाई चुनौती दिन खोजेको देखिन्छ । इजलास बहिस्कार गर्ने न्यायाधीशहरूले आजै आन्तरिक छलफल गर्दैछन् । विगत ३ दिन देखि विवादका कारण सर्वोच्चमा सुनुवाइ अवरुद्ध हुँदै आएको छ ।

उनले न्यायाधीश टंकबहादुर मोक्तान र आफ्नो छुट्टा छुट्टै एकल इजलास तोकेका छन् । विवादमा फसेका राणाले राजीनामा दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजलास तोकेका हुन् ।

सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ प्रभावित भएको छ । हिजो न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए ।

उक्त छलफलमा राणाले आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताएका थिए । कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने राणाले अडान राखेपछि न्यायाधीशहरूले थप छलफल गरेका थिए । उनीहरूले यसबारे आज पनि छलफल गर्दैछन् । राणाले राजीनामा नदिए देशभर आन्दोलन गर्ने बारले चेतावनी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७