वागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा


१० कार्तिक २०७८, बुधबार
asta

हेटौंडा, १० कात्तिक । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् ।

प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिसकेको छ । मुख्यमन्त्री शाक्यले मन्त्री तथा सांसदहरुसँग मत विभाजनको प्रक्रियामा अगाडि बढ्ने वा राजीनामा दिएर मार्गप्रशस्त गर्ने विषयमा आन्तरिक छलफल गरेकी थिइन् । पूर्व मुख्यमन्त्री डोरमणि पौडेल निकट सांसदहरुले प्रक्रिया अगाडि बढ्नुपर्ने बताए पनि शाक्य निकट सांसदले राजीनामा दिन सुझाएका थिए ।

प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन् । प्रदेशसभामा नयाँ सरकार बनाउन र टिकाउन ५५ मत भए पुग्छ । विपक्षी गठबन्धनसँग ५९ मत रहेको छ । ३ मत रहेको विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने बताएको छ । दुई-दुई मत रहेको नेपाल मजदुर किसान पार्टी, राप्रपाले कुनै प्रतिक्रिया दिएका छैनन् ।

नेकपा (एस) का संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने पक्का भइसकेको छ । विपक्षी गठबन्धनको पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । वाग्मतीमा नेकपा (एस) र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । वाग्मती प्रदेशको सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् ।

शाक्य अल्पमतमा परेसँगै वाग्मतीमा विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणको कसरत सुरु गरेको थियो । मुख्यमन्त्री शाक्यले गत असोज २४ गतेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव गरेकी थिइन् । तर, विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो नलागउँदा दलहरुबीचको सहमतिमा प्रदेशसभाको बैठक सारिएको थियो । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो मुख्यमन्त्री बनेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७