मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख समक्ष बुझाइन् राजीनामा, नयाँ सरकार गठनको प्रक्रिया शुरु

‘प्रदेश बनाउन मिलेर काम गरौं’


१० कार्तिक २०७८, बुधबार
AstaLaxmi shakya Resign letter

हेटौंडा, १० कात्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् ।
प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि संविधानतः ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता अनुरुप मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेकी थिइन् । सो प्रस्तावमाथि छलफल भइ मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा राजीनामा घोषणा गरेकी हुन् ।

योसँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ । प्रदेश सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धनबीच यसअघि नै नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिने सहमति भइसकेको छ ।

‘प्रदेश बनाउन मिलेर काम गरौं’

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।

शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको बताइन् ।

‘हामी संस्कारयुक्त बनौं, द्वनन्द्व कम गरौं । प्रदेश बनाउन मिलेरै काम गरौैं’ उनले भनिन्, ‘आफ्नो पदीय दायित्व होला । तर आखिरमा प्रदेश बनाउन हामी नमिली सुखै छैन ।’ मुख्यमन्त्री शाक्यले आगामी दिनमा मिलेर अघि बढ्न अहिले राजीनामा दिने बाटो नै आफूलाई ठीक लागेको बताइन् ।

सबै पक्ष मिलेमा प्रदेशलाई नमुना बनाउन सकिने भन्दै मुख्यमन्त्री शाक्यले सत्तापक्ष र प्रतिपक्षको परम्परागत भावना त्याग्नुपर्ने बताइन् ।

‘हिजाको परम्परागत सोचले हुँदैन । प्रतिपक्ष भएपछि विरोध गर्नैपर्ने, सत्तापक्षले जस्तो भए पनि पास गरेर जानुपर्ने, यो सोच त्याग्नुपर्छ । राम्रोलाई राम्रो भन्ने नराम्रोलाई आलोचना गर्ने । यो संस्कार हामीले विकास गर्न किन सक्दैनौं ?’ उनले प्रश्न गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७