२४ वर्षीया सीताले जन्माइन् चम्ल्याहा छोरी


प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १८:४४

पाल्पा, १० कात्तिक । पाल्पाको माथागढी गाउँपालिका–१ की २४ वर्षीया महिलाले चम्ल्याहा छोरीलाई जन्माएकी छन् । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा सीता सार्कीले मंगलबार दिउँसो चार छोरीलाई जन्माएकी हुन् । कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार दिउँसो महिला तथा प्रसूति विशेषज्ञ डा. तारा केसीको टीमले शल्यक्रिया गरेको थियो ।

अस्पतालका अनुसार सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी जन्माएकी हुन् ।

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार चारै जना शिशु र आमाको अवस्था सामान्य छ । सामान्यतः दुई–दुई किलो पाँच सय ग्राम तौलसम्मको बच्चा जन्मिएमा सामान्य मानिन्छ । तर, सार्कीले जन्माएका चार छोरीको तौल आधा कम छ । बच्चा स्वस्थ हुँदाहुँदै पनि तौल कम भएकाले इन्फेक्सन नहोस् भनेर एनआईसीयूमा राखिएको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्