विवेकशील साझाको पाण्डे समूह नेकपा (एस) मा प्रवेश गर्ने तयारी


११ कार्तिक २०७८, बिहीबार
bibek

काठमाडौं, ११ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले भेटवार्ता गरेको छ । बुधबार विवेकशील साझाका संयोजक पाण्डेको टोलीलाई अध्यक्ष नेपालले आफ्नो निवासमा बोलाएर आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन् ।

एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग एक घण्टा लामो कुराकानी गरेका थिए । विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग संघीयता र धर्मनिरपेक्षाबारे सैद्धान्तिक मतभेद देखिएपछि संयोजक पाण्डेको समूह विकल्पको खोजीमा छ ।

यसअघि जनता समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग छलफल गरेका पाण्डे समूह पछिल्लो समय माधव नेपालसँग नजिकिएको छ । नेकपा एमालेमा विद्रोह गरी भदौमा एकीकृत समाजवादी पार्टी स्थापना गरेका नेपालले पाण्डे समूहलाई भित्र्याउन छलफल अगाडि बढाएको बुझिएको छ ।

हिजोको भेटमा पनि वर्तमान राजनीतिक समस्या र आगामी सहयात्राका विषयमा कुराकानी भएको विवेकशील साझाका नेता केशव दाहालले स्वीकारेका छन् । उनले भने, ‘माधव नेपालले मिलेर अगाडि बढौं भन्ने प्रस्ताव राख्नु भएको हो । हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौं । आफ्ना अनुभवलाई आदानप्रदान गरेर नयाँ दिशा दिने प्रयासमा छौं । नयाँ सम्भावनाको खोजी गर्न कुरा चलि नै रहन्छ ।’

यतिबेला विवेकशील साझामा आत्मसमर्पण कि विद्रोह भन्ने ठाउँमा पुग्नैपर्ने अवस्था आएको उनको भनाइ छ । ‘विवेकशील साझामा दुबै पक्ष नगल्ने अवस्थाले अल्झिएका छौं । रवीन्द्रजीले आफ्नो एजेण्डाबाट ब्याक नहुने र हामीहरुले उहाँको एजेण्डा बोक्न नसक्ने अवस्था छ । अब आत्मसमर्पण कि विद्रोह भन्ने ठाउँमा पुग्नै पर्ने अवस्था आएको छ,’ उनले भने ।

दाहालका अनुसार अध्यक्ष नेपालले भेटवार्ताको सुरुमा आफ्ना कुरा राखेका थिए । नेपालको भनाई उदृत गर्दै दाहालले भने, ‘म प्रधानमन्त्री भएर पनि चाहे जति परिणाम निकाल्न सकेनौं । यो सबै आलोचना किन भइरहेको छ भनेर नै कुरा सुरु गर्नु भएको थियो ।’

नेपालमा एक जनाले मात्र चाहेर नहुने भन्दै प्रणालीमै परिवर्तन आवश्यक रहेको नेपालले पाण्डेको टोलीसँग अनुभव सुनाएका थिए । ‘हामीले नयाँ प्रयत्न गर्दैछौं । यी पुराना मान्छेहरु सबैले परिणाम निकाल्न सकेन भन्ने तपाईंहरुलाई लाग्दो हो । हामीले चाहँदा चाहँदै पनि कतिपय काम हुन सकेनन् । यो देशमा एकजना व्यक्तिले चाहेर मात्र हुँदैन रहेछ । प्रणालीलाई बल्नुपर्ने रहेछ,’ नेपालको भनाइ थियो ।

नेपालले आफ्ना कुरा राखेपछि उनीहरुका कुरा पनि सुनेका थिए । एकीकृत समाजवादीले वैकल्पिक राजनीतिलाई सम्बोधन गर्ने ताकत राख्नुपर्ने उनीहरुको भनाइ थियो ।

‘अहिलेको अवस्थामा एकीकृत समाजवादीले नेपाली राजनीतिमा नयाँ खाले कुनै अपिल गरेको म देख्दिनँ भनेर मैले उहाँलाई भनें । एकीकृत समाजवादीले अपिल गर्नुपर्छ । वैकल्पिक र समाजवादी राजनीतिलाई सम्बोधन गर्ने ताकत राख्नुपर्छ भनेर हामीले उहाँलाई पृष्ठपोषण दियौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७