म्यानमारका विभिन्न स्थानमा बम आक्रमण, सैन्य सरकारविरुद्ध बढ्दै विरोध


११ कार्तिक २०७८, बिहीबार
myanmar 1

काठमाडौं, ११ कात्तिक । म्यानमारको मन्डाले शहरको प्रहरी चौकी र सडक यातायात प्रशासन विभागमा चार विष्फोट भएको छ । बीबीसीका अनुसार स्थानीयले मानिसहरुले दिएको जानकारीअनुसार विष्फोटपछि घटनास्थलमा पुगेको सेनाले केही मानिसलाई पक्राउ गरेर लगेको छ ।
यो क्षेत्रमा बसोबास गर्दै आएका एक व्यक्तिले भने, ‘मैले चार विष्फोटको आवाज सुनेको थिएँ । सेनाले घटनास्थलमा आएर केही मानिसलाई पक्राउ गरेर लगेको छ ।’

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले भने यो घटनामा नौ जना मानिस घाइते भएको उल्लेख गरेको छ । म्यानमारका शहरमा गोली चल्नु र ग्रामीण क्षेत्रमा सशस्त्र संघर्षका घटना अहिले सामान्य भइसकेका छन् ।

संयुक्त राष्ट्रसंघका अधिकारी र अन्य पर्यवेक्षकले गत फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएसँगै पैदा भएको अशान्ति अहिले गृहयुद्धतर्फ अघि बढिरहेको भन्दै चेतावनी दिएका छन् । स्पेसल अट्याकिङ फोर्स (अपर बर्मा) नामक एक समूहले सामाजिक सञ्जाल फेसबुकमा यो आक्रमणको जिम्मेवारी लिएको छ ।

यो समूहले सेनाले गोली किन्न राजस्वको प्रयोग गरिरहेको भन्दै कर असुल्ने कार्यालयलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ । समूहले कर असुल्ने सरकारी कार्यालयबाट टाढै रहन मानिसहरुलाई सुझाव दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७