धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया शुरु


११ कार्तिक २०७८, बिहीबार
dhitopatra board

काठमाडौं, ११ कात्तिक । भीष्मराज ढुङ्गाना बर्खास्त भएसँगै नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढेको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो ।

धितोपत्रसम्बन्धी ऐनमा रहेको व्यवस्थाअनुसार अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति गठन हुनेछ ।

सोहीअनुसार राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको नेतृत्वमा अर्थसचिव मुधुकुमार मरासिनी र विज्ञ सदस्यमा प्रा. डा. नारायणप्रसाद पौडेल सदस्य रहेको सिफारिस समिति बनेको छ ।

सो समितिले तीन जनाको नाम सिफारिस गर्ने र त्यसमध्ये एक जनालाई मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ । ०७६ पुसमा भीष्मराज ढुङ्गाना चार वर्षे कार्यकालका लागि अध्यक्ष नियुक्त भएका थिए । अब नियुक्त हुने अध्यक्षले उक्त बाँकी कार्यकाल पूरा गर्नेछन् ।
बोर्डको अध्यक्ष हुन कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका हुनुपर्ने व्यवस्था छ ।

बोर्डको नयाँ अध्यक्ष बन्नको लागि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, बिमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं, चार्टर्ड एकाउन्टेन संघ आइक्यानका पूर्व अध्यक्ष कृष्ण आचार्य, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डेलगायत नाम चर्चामा छ । बर्खास्तमा परेका ढुङ्गाना भने पुनर्बहलीको लागि सर्वोच्च अदालत गएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७