द्वन्द्वको घाउ : छोराको बाटो हेर्दाहेर्दै बित्यो १९ वर्ष, नफर्किएपछि काजकिरिया


प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १२:५०

मोरङ, ११ कात्तिक । मोरङ कानेपोखरीका रामबहादुर धिमाल छोरो सुनिल घर फर्केर आउने आशामा बसेको १९ वर्ष भयो । अब भने छोरा फर्केर आउने आशा उनले मारिसकेका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा कानेपोखरी गाउँपालिका–४ का सुनिललाई राज्यपक्षद्वारा बेपत्ता बनाइएको थियो । सेनाबाट बेपत्ता बनाइएका १९ वर्षपछि परिवारले सुनिल जीवित नरहेको ठानेर काजकिरिया गरेको हो । ‘छोरो घर फर्केला भनेर यतिका वर्ष बाटो कुरेर बस्यौं,’ रामबहादुरले भने, ‘कुनै दिन टुप्लुक्क आइपुग्छ कि भन्ने आशामा १९ वर्ष बितायौं, अब भने सुनिल आउने आशा हामीमा रहेन ।’

सुनिल जीवितै भए अहिलेसम्म घर आइसक्थ्यो भन्ने उनको ठम्याइ छ । उनले भने, ‘अब माया मारेर अन्तिम कर्म गरें ।’ रामबहादुर र डल्लीमायाका जेठो छोरा सुनिल २०५९ सालदेखि बेपत्ता छन् । ‘२०५९ कात्तिक ६ गते बिहीबार काग तिहारको दिन थियो,’ रामबहादुरले भने, ‘चार जति बजेको थियो होला, सेनाले सुनिललाई पक्रिएको खबर आयो ।’ उनका अनुसार त्यसअघि पनि सेनाले सुनिललाई खोजिरहेको थियो । घरमै सुनिललाई खोज्दै कयौं पटक सेना आए पनि नभेटेपछि फर्किने गरेको उनको भनाइ छ ।

त्यतिबेला सेनामा गएर भनसुन गर्ने आँट परिवारका कसैमा नभएकाले त्यसपछिको अवस्थाबारे परिवार नै बेखबर रह्यो । तर सुनिललाई पक्राउ गरिएको केही घण्टापछि गाउँमा ‘सुनिललाई सेनाले गोली हानेर मार्‍यो’ भन्ने हल्ला चलेको पनि रामबहादुर सम्झन्छन् । त्यो हल्लाले धिमाल परिवारमा रुवाबासी चल्यो । आमा डल्लीमाया मुर्छित बनिन् । तर, हो–होइन भनेर सेनालाई सोध्ने हिम्मत उनीहरुले गरेनन् । सेनासम्म पुग्ने माध्यम पनि भएन ।

माओवादीमा लागेकै कारण तत्कालीन शाही नेपाली सेनाले सुनिललाई पक्राउ गरेर लगेको थियो । अहिलेसम्म सेना वा राज्यले सुनिलको अवस्थाबारे कुनै जानकारी नदिएको परिवारको भनाइ छ । सुनिललाई मोरङकै चिसाङ खोलाको जङ्गलमा लगेर सेनाले गोली हानेको खबर धेरैले उतिबेलै धिमाल परिवारलाई सुनाएका थिए ।

‘बाँचेको भए त यतिन्जेलसम्म जहाँ भए पनि आउनुपर्ने हो,’ रामबहादुरले भने, ‘उसको आत्माले शान्ति पाओस् भनेर समाजको सल्लाह अनुसार गुरुपुरोहित (ओझा) पढाएर धर्मसंस्कार अनुसार काजकिरिया गरिदिएका हौं ।’ धिमाल पुरोहित खसेन्द्र धिमालका अनुसार बेपत्ता व्यक्तिको १२ वर्षसम्म पत्तो नलागे विधिवत काजकिरिया गर्नुपर्ने परम्परा छ । तर, बुढा भइसकेका आमाबाबुको मनमा चोट नपुगोस् भनेर हतारमा काजकिरिया नगरी १९ वर्षसम्म कुरेको उनले बताए ।

धिमाल दम्पतीका तीन छोरामध्ये सुनिल जेठा हुन् । गाउँमा ७ कक्षा पढेर विद्यालय छाडेका उनी २४ वर्षको उमेरमा माओवादी बनेका थिए । सुनिलका माइला भाइ लिलाबहादुर घरमै खेतीपाती गरेर जीविका चलाउँछन् भने कान्छा अमरबहादुर मलेसियामा छन् । बेपत्ता परिवारका लागि भनेर सरकारले पटक–पटक गरेर धिमाल परिवारलाई १० लाख रुपैयाँ दियो । सहिद परिवारलाई मासिक भत्ता दिने घोषणा सरकारले गरेको सुने पनि अहिलेसम्म रकम नपाएको धिमाल परिवारको गुनासो छ । जिल्ला प्रशासन कार्यालय मोरङको तथ्याङ्क अनुसार सशस्त्र द्वन्द्वको क्रममा मोरङमा राज्य र तत्कालीन विद्रोही माओवादीबाट गरी २३ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्