प्रतिनिधिसभा बैठक १८ दिनका लागि स्थगित, तीन सांसद लगातार १३ वैठकमा अनुपस्थित


११ कार्तिक २०७८, बिहीबार
jhalanath pradeep karma ghale UMrwhvzTy5

काठमाडौं, ११ कात्तिक । प्रतिनिधिसभाको अर्को बैठक कात्तिक २९ गते बस्ने भएको छ । कात्तिक २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बिहीबारको बैठक सकिएको हो । वैठक १८ दिनका लागि स्थगित गरिएको हो ।

बैठकमा एमालेको अवरोधकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ पेस गरेका थिए ।
त्यस्तै, प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लगातार १० वा सो भन्दा बढी बैठकमा उपस्थित हुन नसकेका तीन सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितिको सूचनालाई सभाले स्विकृति जनाएको छ ।

तीन सांसद लगातार १३ बैठकमा अनुपस्थित

प्रतिनिधिसभाका तीन सांसद लगातार १३ बैठकमा अनुपस्थित भएका छन् । एकीकृत समाजवादीका सांसद झलनाथ खनाल तथा कांग्रेस सांसदहरु प्रदीप गिरी र कर्मा घले लगातार १३ बैठकमा अनुपस्थित रहेको जानकारी सभामुख अग्नि सापकोटाले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा गराएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनाल भारतको दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएर घरमै आराम गरिरहेका छन् । उनी गत भदौ २३ देखि कात्तिक ११ सम्म १३ बैठकमा अनुपस्थित रहेको जानकारी सापकोटाले दिए । त्यस्तै कांग्रेस सांसद कर्मा घले पनि १३ बैठकमा अनुपस्थित रहेको जानकारी सापकोटाले दिए ।

उनी पनि भदौ २३ देखि कात्तिक ११ सम्म १३ बैठकमा अनुपस्थित रहेको सापकोटाले बताएका छन् । बिरामी भएपछि सांसद घले अहिले भारतको मुम्बईस्थित ब्रिज क्यान्डी अस्पतालमा क्यान्सरको उपचार गराइरहेका छन् । त्यसैगरी कांग्रेस सांसद प्रदीप गिरी पनि लगातार १३ बैठकमा अनुपस्थित भएको सापकोटाले बताए ।

उनी पनि भदौ २३ देखि कात्तिक ११ सम्म १३ लगातार बैठकमा अनुपस्थित भएको सापकोटाले जानकारी दिए । गिरी पनि अहिले भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत छन् । घाँटीमा समस्या देखिएपछि उनी सुरुमा मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत थिए । त्यसपछि उनी थप उपचारका लागि राजधानी दिल्ली गएका हुन् । उनी र सांसद घलेलाई भेट्न कांग्रेस महामन्त्री शशांक कोइराला भारत गएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७