संसद अधिवेशन अन्त्य गर्न सिफारिस


११ कार्तिक २०७८, बिहीबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं, ११ कात्तिक । सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले शुक्रबार रातिदेखि लागू हुने गरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं अधिवेशन अन्त्य गर्न राष्ट्रपतिकहाँ सिफारिस गरिएको हो । ‘संघीय संसद्का दुवै अधिवेशन शुक्रबारबाट अन्त्य गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ,’ ती मन्त्रीले भने ।

संसद्को चालु अधिवेशन भदौ २३ गते आह्वान गरिएको थियो । राष्ट्रिय सभा र प्रतिनिधिसभामा एमालेले अधिवेशन अवधिभर अवरोध गरेको थियो । एमालेको अवरोधबीच संघीय संसद्को चालु अधिवेशनले बजेट पारित गरेको थियो ।

बजेट पारित गर्नुका अलावा संसद्को यो अधिवेशनले अन्य काम भने गर्न सकेन । एमालेले अध्यादेश ल्याएर पार्टी विभाजनको आरोप लगाउँदै संसद्मा अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले अर्को बैठक कात्तिक २९ गतेका लागि तय गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक भने अनिश्चित थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७