भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस, अब यी देशमा बाँकी


१२ कार्तिक २०७८, शुक्रबार
3 rajdut2021 10 28 06 01 42

काठमाडौं, १२ कात्तिक । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाएको तीन महिनापछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।

भारतका लागि सिफारिस शर्मा विगतमा अमेरिकाका लागि राजदूत थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत भइसकेका अर्थशास्त्री हुन् । बेलायतका लागि सिफारिस भएका आचार्य पूर्वपरराष्ट्रसचिव हुन् । उनी संयुक्त राष्ट्रसंघका लागि पूर्वस्थायी प्रतिनिधि समेत हुन् । आचार्य अति कम विकसित मुलुक हेर्ने गरी संयुक्त राष्ट्रसंघका उपमहासचिव समेत भएका थिए ।

त्यस्तै, अमेरिकाका लागि सिफारिस खत्रीसँग अन्तर्राष्ट्रिय सम्बन्ध प्राध्यापन तथा शोधको लामो अनुभव छ । उनी ०७३ मा कांग्रेस–माओवादी गठबन्धन सरकारद्वारा गठित विदेश नीति पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलको संयोजक थिए । २३ मुलुकमा राजदूत रिक्त रहेकोमा अझै २० देशमा सिफारिस गरिएका छैनन् ।

यी देशमा राजदूत सिफारिस हुन बाँकी

चीन, जापान, मलेसिया, बंगलादेश, ओमान, स्पेन, कतार, इजरायल, दक्षिण अफ्रिका, अस्ट्रिया, अस्ट्रेलिया, रुस, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क, साउदी अरब, ब्राजिल, बहराइन, म्यानमार । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७