राजेन्द्र पाण्डे बने बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री

चार सदस्यीय मन्त्रिपरिषद् गठन


१२ कार्तिक २०७८, शुक्रबार
Rajendra pandey sapath

हेटौंडा, १२ कात्तिक । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेशप्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेलगत्तै पाण्डेले बिहीबारै पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरेका छन् ।

गठबन्धनमा रहेका माओवादीबाट २३, कांग्रेसबाट २२, एकीकृत समाजवादीबाट ११ र जसपाबाट एक गरी ५९ सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । पाण्डेले बिहीबारै तीन मन्त्री नियुक्त गरेका छन् । गठबन्धनका तीन दल माओवादी, कांग्रेस र एकीकृत समाजवादीका एक–एक मन्त्री बनेका हुन् ।

माओवादीकी कुमारी मोक्तानले सामाजिक विकास, कांग्रेसका कृष्णलाल भँडेलले भौतिक पूर्वाधार विकास र एकीकृत समाजवादीका कृष्ण खनालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । खनाल एमालेमा हुँदा सामाजिक विकासमन्त्री थिए । मन्त्री रहेकै अवस्थामा २३ भदौमा एमाले छाडेर उनले समाजवादी रोजेका थिए । उनीहरूले बिहीबारै सपथ लिएका छन् ।

माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेलका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गठबन्धनमा भएको छ । ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्छ । तिहारअघि नै विश्वासको मत लिनेबारे छलफल भइरहेको जमकट्टेलले बताए ।

बुधबार प्रदेश सभाको बैठकलाई सम्बोधनपछि एमाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै पाण्डेलाई बाटो खुलेको थियो । लगत्तै गठबन्धनमा रहेका ५९ सांसदको समर्थनसहित पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

४४ महिनाअघि भएको प्रदेश सभाको निर्वाचनमा पाण्डे एमालेबाटै निर्वाचित भएका थिए । निर्वाचित भएसँगै उनी मुख्यमन्त्रीका दाबेदार थिए । तर, एमाले अध्यक्ष केपी ओलीको रोजाइमा नपरेपछि पाण्डे मुख्यमन्त्रीको दौडबाट बाहिरिएका थिए । २ भदौमा एमाले विभाजनपछि उनी नयाँ पार्टी एकीकृत समाजवादीतर्फ लागेका हुन् ।

सुरुवातका तीनै जना दाबेदार बने मुख्यमन्त्री
बागमती प्रदेश सभामा तत्कालीन एमाले एक्लैले बहुमत हासिल गरेपछि उसैको नेतृत्वमा सरकार बन्ने निश्चित थियो । तर, मुख्यमन्त्री को बन्ने टुंगो थिएन । पार्टी उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्य र पूर्वस्थानीय विकासमन्त्री राजेन्द्र पाण्डे स्वाभाविक दाबेदार देखिएका थिए ।

तर, अध्यक्ष केपी ओलीको रोजाईमा डोरमणि पौडेल परे । पौडेल दलको नेता चयन गर्ने निर्वाचनमा शाक्यविरुद्ध उभिए । निर्वाचन नै हुने भएपछि माधवकुमार नेपाल पक्षका पाण्डे पछि हटे र नेपाल पक्षकै शाक्यलाई समर्थन जनाए । तर, निर्वाचनमा पौडेलले ३४ ल्याउँदा शाक्यले २४ मत मात्र ल्याइन् ।

गत २ भदौमा एमाले विभाजन गरेर नेपाल पक्ष निर्वाचन आयोग पुगेपछि ओलीले पौडेललाई राजीनामा गराई नेपाल पक्षमा रहेकी शाक्यलाई दलको नेता चयन गर्न लगाए । विभाजनको सँघारमा ओलीले शाक्यलाई मुख्यमन्त्री बनाएर नेपाल नेतृत्वको पार्टीमा जानबाट रोके । तर, मुख्यमन्त्रीको शपथ लिएकै दिन अल्पमतमा देखिएकी शाक्य ७१ दिनपछि राजीनामा दिन बाध्य भइन् । शाक्यको बहिर्गमनसँगै ४४ महिनाअघि एमालेमै रहँदा मुख्यमन्त्रीको दौडमा रहेका पाण्डे नयाँ मुख्यमन्त्री बने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७