जसपालाई एकता प्रस्ताव गर्दै प्रचण्डले भने, ‘अब क्षेत्रीय पार्टीले मुक्ति दिंदैन, ढिला नगर्नुस्’


१३ कार्तिक २०७८, शनिबार
thumb 1 11

सर्लाही, १३ कात्तिक । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेताहरुसँग प्रस्ताव राखेका छन् । सर्लाहीमा आज (शनिबार) भएको कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई छिटो पार्टी एकता गर्न अपील गरेका हुन् ।

‘क्षेत्रीय पार्टीबाट मधेसी जनताको मुक्ति हुन्न । पहाडिया जनताको पनि मुक्ति हुन्न । महासागर बनाऔं, गहिरिएर हेरौं । अलग–अलग पार्टी बनाउनै पर्दैन’, प्रचण्डले भने, ‘महेन्द्रजी, उपेन्द्रजी सबैलाई हार्दिकतापूर्वक भन्छु, गठबन्धन त हामीले गरेकै छौं । अब एउटै पार्टी बनाऔं । सबाल सिद्धियो ।’

प्रचण्डले पार्टी एकता गरेमा जसपाका नेताहरुलाई सम्मान र अधिकार दिन कुनै कमी नहुने आश्वासन दिए । ‘तपाईंहरुलाई चाहिने सम्मान । चाहिने अधिकार दिन हामी कन्जुस्याइँ गर्ने छैनौं,’ उनले भने, ‘तपाईंहरु ढिला नगर्नुस् । हामी सबै पार्टी एकता गरौं ।’ यादवद्वयले आफू र माओवादीलाई राम्रोसँग चिनेको दाबी गर्दै प्रचण्डले जनकपुरमै एकता घोषणासभा राख्न समेत अपिल गरे ।

‘मलाई उपेन्द्रजी र महिन्द्रजीले राम्रो चिन्नु हुन्छ कस्तो मान्छे हो भनेर । हाम्रो पार्टी कस्तो हो भनेर । नडराइकन पार्टी एउटै बनाऔं । सिद्धियो । यही ठाउँमा पार्टी एकताको घोषणा गर्‍यौं,’ उनले थपे, ‘म जनकपुर आउँछु । जनकपुरमा घोषणा गरौं । एउटा राम्रो सन्देश जान्छ । अर्को चुनावमा मधेसमा लहर आउँछ । हामीले सरकार बनाउँछौं । टेन्सन लिन किन पर्‍यो ?’

यसअघि मधेसी जनतालाई अन्य दलहरुले झुक्याइएको आरोप लगाउँदै दाहालले अब मधेसलाई माओवादीसँग जोड्न कुनै तागतले रोक्न नसक्ने बताए । उनले पार्टी एकता गरेर अघि बढे देशकै बलियो शक्ति हुने र प्रदेश–२ मा पनि आफूहरुको पार्टीको बर्चस्व कायम हुने तर्क गरे । ‘पार्टी एकता गरेर जनकपुरमा घोषणा सभा गरौं । अब समयले तपाईंहरुलाई पर्खिँदैन’, उनले थपे, ‘अब झुक्किने दिन गए । एकता नगरेर भीरबाट जाने गोरुलाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७