प्रदेश–१ मा राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार बन्छ : सञ्चारमन्त्री


१३ कार्तिक २०७८, शनिबार
Gyanendra Karki RSS1629376040

इनरुवा, १३ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश नम्बर–१ मा राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने बताएका छन् ।

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपलिका–८ वडाको प्रशासनिक तथा कार्यालय भवनको उद्घाटन कार्यक्रममा उनले सहमतिअनुससार नेकपा ९एकीकृत समाजवादी०का संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने बताए । गठबन्धनको संस्कृति र गठबन्धनलाई मजबुत बनाउनु अहिलेको आवश्यकता भएकाले राईकै नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने मन्त्री कार्कीले दाबी गरे ।

प्रदेशमा कुनै दलको सदस्य संख्या कमबेसी भए पनि जसरी केन्द्रमा संयुक्त गठबन्धनको सरकार निर्माण भएको छ, त्यसरी नै प्रदेशमा पनि संयुक्त सरकार बन्ने मन्त्री कार्कीले दाबी गरे ।

अहिले केन्द्रमा भएको गठबन्धनको सरकारलाई मजबुत बनाउन केन्द्रका शीर्ष नेताबीच छलफल गरेर भएको निर्णयलाई पालन गर्नुको विकल्प आफूहरूसमक्ष नभएको मन्त्री कार्कीले बताए । केन्द्रमा भएको निर्णयका विषयमा एउटा उपयुक्त ठाउँमा छलफल गर्ने बताउँदै उनले त्यसलाई अवज्ञा गर्ने अधिकार कसैलाई नभएको समेत उल्लेख गरे ।


फरक प्रसंगमा मन्त्री कार्कीले वर्तमान सरकार देशलाई दिगो विकासतर्फ अग्रसर गर्नका लागि क्रियाशील रहेको बताए । मुलुकमा स्थिरता कायम गर्दै जनताको जीवनरक्षा गरेर देशलाई दिगो विकासतर्फ अग्रसर गराउनु अहिलेको सरकार हरपल प्रयासरत रहेको उनले दाबी गरे ।

विगतका सरकारले साढे तीन वर्षमा केवल शक्ति आफ्नो हातमा केन्द्रित गर्ने, जनतालाई गफ बाँड्नेबाहेक केही नगरेको उल्लेख गर्दै मन्त्री कार्कीले सरकारले लोकतन्त्रको रक्षा, पद्धतिको सुदृढीकरण, कानुनी शासनको प्रत्याभूति गर्दै सुशासनलाई केन्द्रमा राखेर जनतालाई सेवा र सुविधा प्रदान गर्ने बताए ।

सरकारको पहिलो प्राथमिकता खोप भएकाले वैशाखभित्रमा खोप लगाउन योग्य नागरिकले खोप लगाइसक्ने मन्त्री कार्कीले बताए । कोभिडको आतंकबाट विस्तारै मुक्ति पाइरहेको बताउँदै वर्तमान सरकारले जनताको जीवनरक्षा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा केन्द्रीय भूमि आयोगका अध्यक्ष केशव निरौला, संघीय संसद् तथा पूर्वराज्यमन्त्री सीताराम मेहता, प्रदेश–१ का सांसद ताहिर अन्सारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नन्दन दत्त, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रम इनरुवा–८ का वडाध्यक्ष रवीन्द्र मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७