वडाध्यक्षहरुले मेयरकै घर अगाडि थुपारी दिए फोहोर


१४ कार्तिक २०७८, आईतवार
Fohor jnkpur

जनकपुर, १४ कात्तिक । थुप्रिदै गएको फोहोर उठाउन चासो नदिएको भन्दै जनकपुरधाम उप– महानगरपालिकाका वडा अध्यक्षहरु आन्दोलित भएका छन् । उनीहरुले मेयरको घर अगाडि फोहोर थुपारेका छन् ।

वडा नम्बर १, २, ३, ४, ५, ७ र १० नम्बर वडाका अध्यक्षले फोहोर ट्याक्टरमा राखी मेयर साहको घर अगाडि राखेका हुन् । ‘हामीले पटक–पटक भन्दा पनि फोहोर व्यवस्थापनमा मेयरले कुनै चासो राख्नु भएको छैन्’ वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले भने, ‘यसतर्फ कुनै ध्यान नदिई मेयर चाडपर्वको समयमा काठमाडौं जानु भएको छ ।’

उपमहानगरपालिकाको बिभिन्न ठाउँमा थुपारिएको फोहोरले दुर्गन्ध फैलिएको भन्दै उनीहरुले आइतबार फोहोर ट्याक्टरमा लोड गरी मेयर लालकिशोर साहको घर अगाडि थुपारेका छन् । दीपावलीजस्तो पर्व नजिकिँदा समेत फोहोर उठान मेयरले ध्यान नदिएको वडा अध्यक्षहरुको गुनासो छ ।

गत असारमा नगरसभा भएपछि बोर्ड बैठक बसाउन नमानेको भन्दै वडाअध्यक्ष साहले भने, ‘हामीले बोर्ड बैठक बसौंभन्दा पनि मान्नु भएको छैन् ।’ फोहोरको थुप्रो बढ्दै गएको सन्दर्भमा कुरा गर्दा पनि चासो नलिएको र अहिले फोन गर्दा नउठाएकाले समेत बाध्य भएर आफूहरु फोहोर मेयरको घर अगाडि राखेको साहले बताए ।

उनका अनुसार उपमहानगरपालिकाको फोहोर व्यवस्थापन गर्न तीन दिनको अल्टिमेटम दिइएको छ । ‘यो अवधिमा फोहोर नउठाइए हामी पुनः आन्दोलनमा उत्रने छौं’ उनले भने ।

अहिले जनकपुरधामको पिडारी चोक, रमानन्द चोक, जानकी मन्दिर अगाडि, प्रादेशिक अस्पताल अगाडिसहित विभिन्न ठाउँमा फोहोर थुप्रिएको छ । फोहोर बढ्दा समेत व्यवस्थापन गर्न ध्यान नदिँदा जनकपुरधाम दुर्गन्धित बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७