मेस्सीको इच्छा बार्सिलोनामै फर्किने


१५ कार्तिक २०७८, सोमबार
messi 9jgYQ0vD1N

काठमाडौं, १५ कात्तिक । लियोनेल मेस्सीले फुटबल सन्यास लिएपछि प्राविधिक सेक्रेटरीको पदमा बार्सिलोनामै फर्किएर क्लबलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

अर्जेन्टिनी स्टारले क्याटालान टोलीसँग २१ वर्ष बिताउँदै आफूलाई विश्वकै उत्कृष्ट खेलाडीका रुपमा स्थापित गर्न सफल भएका थिए । तर, क्लबले नयाँ करार दिन असमर्थ भएपछि यो सिजन ३४ वर्षीय खेलाडी बार्सा छाड्न बाध्य भएका थिए ।

हाल पेरिस सेन्ट जर्मेनमा रहेका मेस्सीको मन भने अझै क्याम्प नाउमा रहेको देखिएको छ । आफ्नो करियर अन्त्य भएपछि उनले कुनै न कुनै रुपमा बार्सामा नै फर्किने योजना पनि बनाउन सुरु गरिसकेका छन् ।

स्पोर्टसँगको अन्तरवार्तामा मेस्सीलाई ‘कुनै दिन बार्सिलोना फर्कने योजना छ कि छैन ? भनेर सोधिएको थियो । जवाफमा मेस्सीले भने, ‘छ, मैले जहिले पनि भनेको छु कि म क्लबलाई सहयोग गर्न खुसी हुनेछु । म कुनै दिन प्राविधिक सेक्रेटरी बन्न चाहन्छु । यदि सम्भव छ भने म पुनः क्लबलाई योगदान दिन चाहन्छु । किनभने त्यो मैले माया गरेको क्लब हो र त्यो माया सधैं बढी नै रहन्छ ।’

मेस्सीले गत अगस्तमा पीएसजीसँग एक वर्षको करार गरेका थिए । यसमा करारलाई थप एक वर्ष नवीकरण गर्ने विकल्प रहेको छ । उनले पीएसजी नै आफ्नो अन्तिम क्लब हुने भनेर बताएका छैनन् । उनले आफ्नो करियर बाल्यकालको क्लब न्युवेल्स ओल्ड ब्वाइजमा बिताउन चाहेको पनि कयौं पटक बताएका छन् ।

हालसम्म पीएसजीमा मेस्सीले ८ खेलमा ३ गोल गरेका छन् । सबै गोल च्याम्पियन्स लिगमा भएका छन् । पहिलो गोल उनले म्यान्चेस्टर सिटीलाई २–० ले हराउने क्रममा गरे भने आरबी लेइपजीगलाई ३–२ ले हराउने क्रममा उनले दुई गोल गरेका थिए । गत शनिबार लिलविरुद्धको खेलमा उनले ४५ मिनेट मात्र खेलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७