गणतन्त्रका ‘पहिलो प्रस्तावक’ राजेन्द्रको यात्रा : रातो घरदेखि प्रदेश-१ को ‘मुख्यालय’ सम्म


१६ कार्तिक २०७८, मंगलवार
rajendra Rai scaled

काठमाडौं, १६ कात्तिक : २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी कार्यक्रम चल्दै थियो । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको चौकीडाँडादेखि खाटाम्मा उक्लिँदै गर्दा प्रदेशसभाका उम्मेद्वार राजेन्द्र राईलाई एक कार्यकर्ताले जिस्किएर भनेका थिए, ‘दाइ, अब अर्को पटक चुनावमा तपाईलाई प्रदेशसभाकै लागि चाहिँ यसरी भोट आउँदैन है । तर मुख्यमन्त्रीकै उम्मेद्वार बन्नु भयो भने विचार गर्नुपर्ला ।’

टन्टलापुर घाम, उकालो बाटो । पसिनाले भिजेका ती कार्यकर्तालाई राजेन्द्र राईले मुस्कुराउँदै भनेका थिए, ‘तपाईको कुरामा म पनि सहमत छु । अर्को चुनावमा भावी मुख्यमन्त्रीको रुपमा प्रदेशसभामा लड्छु नत्र लड्दिनँ ।’

अर्को पटक अर्थात् गत निर्वाचनमा राजेन्द्र चुनाव लड्दै गर्दा उनको दिल–दिमागमा मुख्यमन्त्री सपना थिएन । अर्को निर्वाचनमा मुख्यमन्त्रीको दाबेदार भए प्रदेशमा फेरि लडौंला भन्ने योजनामा थिए उनी ।

००० ०००

धेरैलाई लागेको थियो, ‘गत निर्वाचनमा भोजपुरबाट संघको निर्वाचनमा राजेन्द्र राईले टिकट पाउने छन् ।’ भोजपुरबाट प्रतिनिधिसभाका लागि सम्भावित उम्मेद्वार प्रदेश नम्बर–१ का निवर्तमान मुख्यमन्त्री शेरधन राई र राजेन्द्र थिए ।

मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा लड्ने शेरधनको घोषणापछि राजेन्द्रले संघको टिकट पाउनेमा भोजपुरका एमाले कार्यकर्ताहरु ढुक्क थिए । तर त्यसो भएन । माओवादीसँगको चुनावी तालमेलका कारण राजेन्द्रले संघको टिकट पाएनन् । भोजपुर (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेद्वारमा खुम्चिए । जुन उनको भित्री चाहना थिएन ।

भोजपुरको चुनावी सभाहरुमा प्रतिनिधिसभाका उम्मेद्वार सुदन किराती, भोजपुर (ख) बाट प्रदेशसभाका उम्मेद्वार शेरधन सँगसँगै । चुनावीसभामा शुरुमा सम्बोधन गर्ने क्रममा राजेन्द्रले भन्थे, ‘कार्यक्रमका सभापति कमरेड, प्रमुख अतिथि प्रदेश नम्बर–१ का भावी मुख्यमन्त्री कमरेड शेरधन राई………….।’ अर्थात् भोजपुरको चुनावी सभाहरुमा शेरधन राईलाई भावी मुख्यमन्त्रीको सबैभन्दा बढी प्रचार गर्ने उनै राजेन्द्र थिए ।

निर्वाचन लगत्तै प्रदेश नम्बर–१ को मुख्यमन्त्रीमा अनेक नामहरु बहसमा आए । उनी पक्षका कार्यकर्ताहरुले तपाईले पनि दाबी गर्नुहोस् भन्दा राजेन्द्रको उत्तर हुन्थ्यो, ‘यसपालिी म दाबी गर्दिनँ ।’ उनी आफ्नो अडान र मान्यतामा दृढ थिए । उनले आफ्ना शुभेच्छुकलाई भन्थे, ‘म आफ्नो मान्यता र अडानमा दृढ छु । यसो नाम चलाइहालौं भनेर दाबी गर्ने मान्छे होइन ।’

तर परिस्थिति यस्तो आइलाग्यो, यही प्रदेशसभाको कार्यकालमा नै उनी मुख्यमन्त्री बनेका छन् । भोजपुर साल्पासिलिछोको उकालोमा उनले भने जस्तो ‘मुख्यमन्त्री बन्नका लागि अर्को निर्वाचनमा आउनुपर्ने अवस्था दूर भएको छ ।’ नेकपा विभाजन, नेकपा विभाजनपछि नेकपा (एमाले) को विभाजन । यी दुईवटा घटनाले उनी प्रदेश नम्बर–१ को मुख्यमन्त्री बनेका छन् । कुनै बेला आफ्नै समूहका नेता भिम आचार्यलाई बिस्थापित गरेर मुख्यमन्त्री भएका हुन् ।


रातोघरदेखि प्रदेश नम्बर–१ को मुख्यालयसम्म

Rajendra Rai
तस्बिर : नयाँ पेज


२०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्षम’ प्रधानमन्त्री भन्दै अपदस्थ गरे । मुलुकको सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिए । घोषणा लगत्तै तात्कालीन एमालेको भ्रातृ संगठन अनेरास्ववियु यसकाविरुद्धमा उभियो ।

तात्कालीन अनेरास्ववियुका अध्यक्ष राजेन्द्र राईले नारायणहिटी दरबार अघिको रातोघर अगाडि उभिएर भने, ‘नागरिकको अधिकार एक दिन र एकछिनका लागि पनि खोस्न पाइँदैन ।’

दलहरुभन्दा एक कदम अघि राईले नेतृत्व गरेको अनेरास्ववियुले ‘राजतन्त्रको समाप्ती र गणतन्त्र स्थापना’ को नारा र मुद्दा उठायो । दलहरु डराएको वा अलमल भएकै अवस्थामा राईको नेतृत्वमा विद्यार्थीहरुले नारायणहिटी नजिकैको रत्नपार्कबाट राजतन्त्र मुर्दावादका नारा शुरु गरे । यही पृष्ठभूमिमा शुरु भएको आन्दोलनको तागतबाट संघीय गणतन्त्रको स्थापना भयो । उतिबेला राजेन्द्र राईहरुले जनतालाई भनेका थिए, ‘यो अन्तिम लडाई हो । सडकमा आउनुहोस् ।’

यसै कारण राजा ज्ञानेन्द्रको पहिलो निशाना राजेन्द्र राई नै भए । लामो समय राजद्रोहको मुद्दामा थुनिए । उनैका तात्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनै राजेन्द्र राईहरु व्यवस्था र संबिधानको रक्षाका निम्ति भन्दै सडकमा उत्रिए । त्यही विद्रोहको श्रृखंला नै हो, उनको मुख्यमन्त्रीको यो जिम्मेवारी ।
००
रत्नपार्क अघि रातो घर थियो, त्यही रातो घरमा अनेरास्ववियुको केन्द्रीय कार्यालय । त्यतिबेलाको रातो घरको अनुशासन र आन्दोलन सम्झिँदा विद्यार्थी नेताहरु गौरवले छाती चौडा पार्छन् । त्यतिबेलाका विद्यार्थी नेताहरु भन्छन्, ‘अध्यक्ष (राजेन्द्र राई) आउँदैछन् भनेपछि हामी पहिल्यै उठेर सतर्क भएर बस्थ्यौं । संगठन र पार्टीका भन्दा अरु गतिबिधि र कुरा गर्न हामीलाई बर्जित थियो ।’

त्यही रातो घर जो नारायणहिटी राजदरबार भन्दा करिब सय मिटर अघि मात्रै थियो । त्यही नारायणहिटी दरबारमा बिराजमान थिए, त्यतिबेलाका शक्तिशाली श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरबिक्रम शाह ।

त्यतिबेला महाराजबिरुद्ध बोल्नु मृत्यु निम्ताउनु जस्तै हुन्थ्यो । तर, रातो घर बाहिर निस्किएर राजेन्द्र राईले त्यतै माइक फर्काएर राजतन्त्र मुर्दाबाद भन्दै भाषण गर्थे । उनको जुझारुपनको बारेमा व्याख्या गरेर उनका सहकर्मीहरु अझै पनि रोमाञ्चित हुन्छन् । त्यतिबेला विचारले मात्रै संगठन सम्भव थिएन । दरबार र कांग्रेसीहरुको दबदबा ।

संगठन बचाउन भौतिक प्रतिरोध पनि उत्तिकै आवश्यक थियो । पार्टी र संगठनका कार्यकर्ता कतै कुटिए वा कसैले अवरोध गरे उनी आफै निस्केर प्रतिरोध गर्थे । उस्तै परे उनी राजेन्द्र राई नाङ्गो तरबार बोकेर बिरोधीको क्याम्पमा एक्लै पुग्ने गरेको किस्सा पनि उनका सहयोद्धाहरु सुनाउँछन् । एक हिसाबले त्यतिबेला राजेन्द्र बिरोधीहरुका लागि आतंक जस्तै थियो ।

प्राकदेखि अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म
जतिबेला यो समाजलाई सामान्य हिसाबले बुझ्न सक्ने भए । समाजमा रहेका विभेद र असमानताहरुको बारेमा थाहा पाए । त्यही बेलादेखि मान्छेहरुलाई विभेद र असमानताबाट मुक्त गर्नका लागि लड्नु पर्छ भन्ने चेतनाले अनेरास्ववियुमा संगठित भए उनी ।

कक्षा ८ मा अध्यानरत छँदा नै अनेरास्ववियुमा संगठित भए । कक्षा ८ पढ्दादेखि नै परिवर्तनका अभियान र आन्दोलनहरुमा सक्रिय रुपले सहभागी भए ।

सक्रिय र जुझारु स्वाभावका राजेन्द्रलाई विद्यार्थी आन्दोलनमा स्थापित हुन उतिधेरै समय लागेन । अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटी, बागमती अञ्चल सदस्य हुँदै केन्द्रीय प्रचार विभागको प्रमुख भए । रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु सभापति सहित तीन कार्यकाल जिम्मेवारी सम्हाले ।

अनेरास्ववियुको सचिव, महासचिव (२०५५–२०५७) हुँदै दुई पटक अध्यक्ष भए । अनेरास्ववियुको केन्द्रीय अध्यक्षको रुपमा (२०५७–०५९) र (२०५९–०६०) मा काम गरे ।

विद्यार्थी आन्दोलनको मियो

Rajendra Rai 3
तस्बिर नयाँ पेज


अनेरास्ववियु एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने सबैभन्दा बलियो संगठन हो । अहिले पार्टीको नेतृत्व तहमा रहेका प्रभावशाली अधिकांश नेताहरु अनेरास्ववियुकै उत्पादन हो ।

जतिबेला उनी अनेरास्ववियुको नेतृत्वमा थिए । त्यो बेलाको अनेरास्ववियु सबैभन्दा आन्दोलन र नेता उत्पादनको हिसाबले पनि सबैभन्दा उर्बर मानिन्छ । उनको पालाका अनेरास्ववियुका नेताहरु केन्द्र र पार्टीका केन्द्रका नेताका रुपमा अहिले स्थापित छन् ।

उनले संगठित र प्रशिक्षित गरेका त्यतिबेलाका विद्यार्थी नेताहरु आज पार्टीको नेतृत्वदायी भूमिकामा छन् । उनकै नेतृत्वमा अनेरास्ववियुले स्ववियुमा ऐतिहासिक सफलता हासिल गरेको थियो । जुझारुस्वभावका राजेन्द्र बौद्धिक हिसाबले पनि उत्तिकै अब्बल मानिन्छ । शैक्षिक इतिहासको आन्दोलन पल्टाउने हो भने उनको कार्यकाललाई स्वर्णिम समय मान्न सकिन्छ ।

नेपालको शैक्षिक अवस्था सुधारका लागि उनको पालामा अनेकौं अभियान र आन्दोलन भए । खासगरी गरिबका छोराछोरी पढ्न सरकारी क्याम्पसहरु सुधारका लागि उनले नेतृत्व गरेको आन्दोलन र अभियानको आज पनि प्रशंसा हुन्छ ।

गणतन्त्रका प्रस्तावक
आज हामी गणतन्त्र ल्याएकोमा गर्व गछौं । हामी सबैको गर्वको बिषय हो, गणतान्त्रिक नेपाल । हो, त्यही गणतन्त्रको पहिलो प्रस्ताव राजेन्द्र हुन् । खुल्ला रुपले नारायणहिटी दरबार नजिकै रहेको अखिलको कार्यालयमा गणतन्त्रका लागि आन्दोलन गर्ने प्रस्ताव राख्दा धेरै मान्छेहरु आत्तिएका थिए । डराएका थिए । तर, राजेन्द्रले अखिलमा ‘अब नेपालमा राजतन्त्रको औचित्य सकियो, अब गणतन्त्रका लागि लड्नु पर्छ’ भन्ने प्रस्ताव पास गराए ।

उनकै नेतृत्वमा अनेरास्ववियुले गणतान्त्रिक आन्दोलनलाई यसरी बढायो कि दलहरु समेत पछिपछि त्यो निर्णय र आन्दोलनमा जान बाध्य भए । सडक र शहरमै बसेर खुल्ला रुपले राजतन्त्रको औचित्य सकिएको घोषणा गर्ने पहिलो नेता हुन् ।

जतिबेला मुलुकमा तात्कालीन राजा ज्ञानेन्द्रले निरंकुश शासन शुरु गरे । त्यसको बिरुद्धमा शुरुदेखि आन्दोलनको शुरुवात राजेन्द्रको नेतृत्वमा अनेरास्ववियुले नै गरेको थियो । अनेरास्ववियु तात्कालीन राजा ज्ञानेन्द्रको सबैभन्दा टाउको दुखाईको बिषय थियो । राजेन्द्र राईलाई आफ्नो सत्ता र शासनको बाधक देखेपछि तात्कालीन राजा ज्ञानेन्द्रले शुरुमा नै पक्राउ गरेर थुन्न लगाएका थिए । जनआन्दोलनताका राजेन्द्रलाई चार महिना जेलमा राखियो । त्यसपछि पनि पटक–पटक पक्रेर थुनिएको थियो ।

सरल नेता

आज राजनीति विस्तारै भ्रष्ट बन्दैगएको छ । नेताहरु आलोचित बन्दै गएका छन् । तर, उनी एउटा यस्तो अपवाद हुन्, कसैले पनि, कहिल्यै पनि उनलाई प्रश्नसम्म गरेका छैनन् । अथवा त्यो वाताबरण उनले बन्न दिएका छैनन् । आर्थिक रुपमा पनि उनी कहिल्यै आलोचित बनेनन् । उनको सरल जीवन देखेर नेताहरु नै छक्क पर्छन् ।

काठमाडौंमा डेरामा बस्छन् । बाइकमा कुद्छन् । कसै-कसैले भन्छन्,‘राजेन्द राई आर्थिक रुपमा बुङ्गो नेता हुन् ।’ किन त ? राजेन्द्र भन्छन्,‘व्यक्तिगत आर्जनको पक्ष मेरो जीवनको उद्देश्य होइन । हुने छैन । म समाज परिर्वतन र रुपान्तरण लागेको मान्छे हुँ । त्यतातिर ध्यान नै दिइएन । दिने पनि छैन ।’


राजेन्द्रको कमजोरी
राजेन्द्र वुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनपश्चात निकै लामो समय खाली जस्तै बसे । त्यो खाली समयलाई उनले राम्रो प्रयोग गरे । उनले गहिरो अध्ययन् गरे । पुस्तक लेखे । वैचारिक रुपमा पनि उनी बलिया भए । दुई पुस्तक लेख्न भ्याए । ‘विचारको खेती’ र ‘आयु’ प्रकाशित छ ।

तर उनको स्वभाव अन्तरमुखी छ । आफ्ना साथीभाइबीच पनि उतिधेरै खुलेर बोल्दैनन् । नजिकबाट संगत गरेका उनका नजिकका एक साथी भन्छन्, ‘असाध्यै अन्तरमुखी हुनुहुन्छ । उहाँको स्वभाव कुहिरोले छोपेको बस्ती जस्तै धुम्म भए जस्तो पो लाग्छ ।’

कार्यकर्ताहरुको अर्को गुनासो छ, ‘राजेन्द्र राईको घेरा असाध्यै सानो छ ।’ उनी जसलाई विश्वास गर्छन्, उसलाई चुपचाप सहयोग गर्छन् । बोक्छन् । नेकपा (एकीकृत समाजवादी) का एक नेता भन्छन्, ‘उनलाई विश्वास लागेन भने जति असल र क्षमतावान कार्यकर्ता भए पनि उतिधेरै ध्यान दिंदैनन् ।’

भोजपुरे कार्यकर्ताहरुको गुनासो छ, ‘नेताहरुको फोन नै उठ्दैन ।’ कार्यकर्ताहरुका अनुसार कम फोन उठाउने नेतामा उनी पनि पर्छन् । एक कार्यकर्ता भन्छन्, ‘नेता जति असल, इमानदार र निष्ठावान् भए पनि संकट परेका बेला ‘रेस्सपोन्स’ भएन भने समस्या हुन्छ ।’ उनले फोन उठाएपछि छरितो गरी बोल्दैनन् । भूमिका सहित लम्बेतान् कुरा गर्छन् । उनी निकट एक भन्छन्, ‘एकातिर लामो बोलिरहदा अर्को फोन छुट्छ ।’

अर्को कमजोरी उनी आफुले समर्थन गरेका नेताप्रति उनी दृढ रहन्छन् । अर्थात् उनी उनको पक्षमा उभिरहन्छन् । तर उनको समस्या उनले गएर आफ्नो कुरा भन्दैनन् । कतिपय अवस्थामा नेताहरुले उनको अडान बारेमा नेता मेसो नै पाउँदैनन् । त्यही कारण उनी अवसरबाट चुक्छन् ।

चुनौती
राजेन्द्रँग कामको भारी धेरै छ । तर समय कम । गठबन्धनले पुरा समय काम गर्न दिंदा पनि करिब ढेड वर्ष मात्रै । यद्यपी नेपाली कांग्रेसको आलोपालोको दाबी कायमै छ । यदि विश्वासको मत लिंदासम्म ‘आलोपालो’ को सम्झौता भयो भने उनीसँग समय पुग नपुग आधा वर्ष जति मात्रै हुन्छ । त्यो समयमा उनको सबैभन्दा ठूलो चुनौती प्रदेशको नामकरण हो । यसअघि प्रदेश नम्बर–२ र १ बाहेक सबै प्रदेश सरकारहरुले प्रदेशको नाम राखिसकेका छन् ।

प्रदेश नम्बर–१ को नामकरणको सन्र्दभमा पहिचानको मुद्दा बढी पेचिलो छ । किरात केवल जातीय पहिचान मात्रै नभएर सभ्यता पनि भएको भन्दै किरात राखिनुपर्ने माग जोडदार छ । बहुपहिचानमा आर्धारित नाम तर किरात चाँहि जसरी पनि जोड्नु पर्ने माग शक्तिशाली छ ।

यसअघि सिङ्गो नेकपा भएको बेला राजेन्द्रले बहुपहिचान (किरात जोडेर) मा आधारित नाम राख्नुपर्ने एजेण्डा बैठकहरुमा राख्दै आएका थिए । अब मुख्यमन्त्री भएपछि उनी आफ्नो मान्यतामा कति अडिन सक्छन् ? अब उनको परीक्षा शुरु भएको छ ।

उनी अहिलेसम्म विवादमा नआएका नेता हुन् । उनी कञ्चन छविका नेता मानिन्छन् । उनको छवीलाई बचाई राख्नु अर्को चुनौती हो । तर मुख्यमन्त्री बनिनसक्दै होटलमा स्याम्पियन फोडेर पार्टी गरेको भिडियो र तस्बिर सोमबार (१५ कात्तिक २०७८) राति नै भाइरल बनेको छ ।

खुशी आदानप्रदानमा शुभेच्छुकले आयोजना गरेको पार्टीमा सहभागी बन्नु ठूलो बिषय त होइन । तर नेताहरु बदनाम बन्दै जाने ‘शुभेच्छुक’ को खुशीलाई इन्कार गर्न नसक्दा नै हो । उनको स्वीकार र इन्कार यात्रा कसरी अघि बढ्छ ? त्यो अर्को अग्नी परीक्षा पनि शुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७